बिर्तामोड , बैशाख २७ । बिर्तामोड नगरपालिकामा नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडमा भौतिक पूर्वाधार,कृषि,पशुपालन,शिक्षा,विपन्न आवासलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी गरेकी छन् ।

चुनावी प्रचार अभियानका क्रममा मंगलबार वडा नम्बर ६मा आयोजना गरिएको कोणसभालाई संवोधन गर्दै निवर्तमान नगर उपप्रमुख समेत रहेकी उम्मेदवार प्रसाईले विगत ५ वर्षको अवधिमा धेरै प्रगति भएको बताइन् । उनले नेकपा एमालेले बिर्तामोडमा १० वटै वडा जोड्नेगरी रिङरोडको आवश्यकता भएको महसुस गरेर अवधारणा ल्याएको बताइन् । यस्तै नगरभित्र रहेका उद्यान पार्क,ऐतिहासिक स्थलहरुलाई पर्यटनसंग जोडेर उद्यमशिलतासंग जोडेर उद्योग र समृद्धितिर अघि बढाउनु पर्ने धारणा राखिन् ।

यस्तै उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी भएपश्चात् आफ्नो जिम्मेवारीमा रहने कामहरु इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता जनाए । वडा नम्बर २का निवर्तमान वडाध्यक्ष समेत रहेका संग्रौलाले यसअघिका अधुरा कामहरु पुरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने बताए । कृषि,पशुपंछीको क्षेत्रमा किसानहरुलाई अनुदानको व्यवस्था अझै बढाएर लैजाने समेत आश्वासन दिए ।

नेकपा एमालेको तर्फबाट वडा नम्बर ६का वडाध्यक्षमा बुद्धिराम भट्टराई,खुल्ला सदस्यमा महिलातर्फ आइतमाया लिम्बु शेर्मा,दलित महिला सदस्यमा पदमकुमारी दियाली,सदस्यमा खेमनाथ अधिकारी र देवीप्रसाद नेपाल उम्मेदवार रहेका छन् । प्रचार प्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगर कमिटीले वडा नम्बर ६का स्यालडाँगी,पिपलचोक,बुट्टाबारीलगायतका क्षेत्रमा कोणसभा सम्पन्न गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्