झापा , बैशाख ३० । देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान शुरु भएको छ ।

बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ । बिहान पानी परेपनि निर्धारित समयबाटै मतदान शुरु भएको छ । बिहान मतदाताको संख्या पातलो देखिएपनि अहिले सबै मतदान केन्द्रहरुमा भीड लागेको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव भइरहेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको संख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको संख्या भने ८७ लाख ४१ हजार ५३० छ ।


मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान भइरहेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको संख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको संख्या ५५ हजार ६९८ छ ।

अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्