बिर्तामोड, जेठ १ । झापाको बिर्तामोडमा गएरातिदेखि अवरुद्ध मतगणना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो ३ बजेदेखि सुचारु गर्ने सहमति गरेको हो । बैठकले करारको सट्टा अन्य कर्मचारी ब्यवस्थापन गर्ने, गणनास्थललाई फराकिलो बनाउने, गणनास्थलमा मोबाइल प्रयोग नगर्ने, कुनै विवाद आएमा दलीय संयन्त्र निर्माण गरी सो संयन्त्रले निकास निकाल्ने निर्णय गरेको छ । एउटा गणनास्थलमा एउटा दलको दुई जना मात्र प्रतिनिधि राख्न पाउने, निर्वाचन अधिकृतबाट जारी भएको दलगत परिचयपत्र मात्र मान्य हुनेलगायतका सहमति भएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए ।
करारको कर्मचारी मतगणनामा खटाइएको, मतगणना स्वच्छ हुन नसकेको भन्दै गएराति नेकपा माओवादी केन्द्रले गणना रोक्न माग गरेको थियो । बिर्तामोडमा मतगणना शुरु भएदेखि नै विवाद हुँदै आएको छ । बिर्तामोडमा हालसम्म १८७० मत गणना भएको छ ।
बिर्तामोड १ को त्यति मत गणना हुँदा मेयरमा एमालेले ८२१,कांग्रेसले ५६९ , उपमेयरःएमालेले ८१७ ,माओवादीले ३३६ ,वडा अध्यक्षमा एमालेले ७७५ र कांग्रेसले ६२२ मत ल्याएको छ ।