झापा , जेठ २ । झापाको गौरीगञ्ज र शिवसताक्षीमा मतगणना अवरुद्ध भएको छ ।

विवादका कारण ती दुई पालिकाको मतगणना अवरुद्ध भएको हो । गौरीगञ्जमा खसेको मतभन्दा एक सय ७३ मत बढी देखिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले मतगणनामा आशंका व्यक्त गरेका छन् ।

गौरीगञ्ज वडा नम्बर १ को मतगणनामा विवाद भएको हो । उक्त वडामा तीन हजार ८ सय ८ मत खसेको मुचुल्कामा उल्लेख छ । तर, आज बिहान सम्पन्न वडाको मतगणनामा मत संख्या ३ हजार ९ सय ८१ पुगेको भन्दै कांग्रेसका प्रतिनिधिले धाँधली भएको आशंकासहित विरोध जनाएका हुन् । विवादका बीच मतदान अधिकृतको कार्यालयले आज बिहान ३ हजार ८ सय ४ मतको अन्तिम मत परिणाम सार्वजनिक गरेको थियो ।

सार्वजनिक मतपरिणाम अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारको मत संख्या बराबर १ हजार १ सय ८१ भएको जनाइएको छ । कांग्रेसले भने आफ्ना प्रतिनिधिले हस्ताक्षर नै नगरेको मतपरिणाम स्वीकार नगर्ने भन्दै विरोध जनाएको छ । त्यस विषयमा सर्वदलीय बैठक बसेर मिलाउने प्रयास भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए ।

त्यस्तै शिवसताक्षी नगरपालिकाको मतगणना पनि रोकिएको छ । शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको संख्या फरक भएपछि विवाद भएको हो ।
वडा नम्बर १ का वडाध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका दुर्गा नेम्बाङले आपत्ति जनाएपछि खोज्ने क्रममा गणना भएको मत हेर्दा ५४ मतपत्र हराएको देखिएको छ । शिवसताक्षी–१ मा एमालेले जित निकालेको थियो ।

त्यहाँको मतगणनामा विवाद भएपछि निर्वाचन अधिकृतलाई कारबाही गरिएको छ । कारबाहीस्वरुप शिवसताक्षीमा खटिएका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विवादका कारण आइतबार साँझदेखि गणना कार्य रोकिएको छ । पौडेललाई फिर्ता बोलाएर मधु पोखरेललाई नयाँ अधिकृतका रुपमा शिवसताक्षी खटाउने कार्य भइरहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्