झापा , जेठ २ । नेकपा माओवादी केन्द्रले झापामा खाता खोलेको छ ।

भद्रपुर नगरपालिका ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बूले ९३५ मत ल्याएका छन् । राजवंशी निवर्तमान वडाध्यक्ष हुन् ।
सदस्यमा भने एमालेका तीन र माओवादीका एकजना निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका माधवप्रसाद अधिकारी ९४२ , अर्जुन बानिया ८९८ र दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मतसहित विजयी भएका छन् भने महिला सदस्यमा माओवादीकी सविता पुरी १०२० मत ल्याई निर्वाचित भएकी छन् ।