झापा , जेठ ४ । नेकपा एमालेले झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

एमालेका तर्फबाट देवीन्द्रप्रसाद चम्लागाईले ७१४८ मत ल्याई अध्यक्ष पद जितेका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४३६१ मत ल्याए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार सिंह राजवंशीले ४०६८, जनता समाजवादी पार्टीका रंगलाल राजवंशीले ११४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ८७, मौलिक जरोकिलो पार्टीका श्यामप्रसाद उप्रेतीले ५०, जनमत पार्टी (जपा)का आसिनलाल राजवंशीले ३८, स्वतन्त्र उम्मेदवार दलबहादुर थापाले २४, उन्नत लोकतन्त्र पार्टीका उमादेवी विश्वकर्माले ५१ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एमालेकै शान्तादेवी शिवाकोटी ६६३६ मत ल्याई निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी राप्रपाकी कमला राजवंशीले ४१९५ मत पाइन् । त्यस्तै अन्य उम्मेदवारहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शंकरप्रसाद सेडाईले २७५७, स्वतन्त्र उम्मेदवार लक्ष्मी तिवारीले ८० र जनमत पार्टीकी ताराकुमारी राजवंशीले ५९ मत ल्याएका छन् । यसअघि गत निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।

यसपटक एमालेले अध्यक्ष र उपाध्यक्ष जितेपनि बहुमत पुर्याउन सकेन । जितेको सिट संख्यालाई हेर्दा एमालेभन्दा कांग्रेसकै बढी रहेको छ । ७ वटा वडा रहेको बाह्रदशीमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ९ सिट जित्दा कांग्रेसले ३ वडाध्यक्षसहित १८ सिट जितेको छ । वडाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसका टेकबहादुर सिंह राजवंशी , २ मा कांग्रेसकै भीमबहादुर कार्की , ३ मा पनि कांग्रेसकै टंकप्रसाद साह , ४ मा स्वतन्त्र उम्मेदवार महताव आलम , ५ मा राप्रपाका विरबहादुर सिंह राजवंशी , ६ मा एमालेका रत्नप्रकाश योङहाङ र ७ मा कांग्रेसका मित्रराज भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्