झापा, जेठ ५ । नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ ।

जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएको थियो । काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वडाको अध्यक्ष जितेको छ । कांग्रेस जिल्ला सभापति देउकुमार थेबेको गृहगाउँ झापा गाउँपालिकामा नेकपा एमाले भने बढारिएको छ ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका गौरीशंकर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन् । साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन् । त्यस्तै अध्यक्ष पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रुद्र बजगाईँले ३ हजार ७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, जसपाका मोहितलाल कामतीले ६२, जनमत पार्टीका लोथ्रो हेमरमले ५८, स्वतन्त्र लक्ष्मीप्रसाद गणेशले ४८ र मंगोल नेशनल अर्गनाइजेसनका दुर्गादेवी तामाङले १८ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी छिन् । उनले एमालेकी देवीमाया अधिकारीलाई एक हजार ४९७ मतान्तरले पराजित गरेकी छिन् । थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याएकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष काँग्रेसले गुमाएको थियो । उपाध्यक्ष एमालेले जितेको थियो ।

यता उपाध्यक्ष पदमा माओवादीका उम्मेदवार मुन्नावती गणेशले २ हजार ८०४, राप्रपाकी तारामाया राईले ७५४, नेकपा (एकीकृत समाजवादी) का ईश्वरप्रसाद दाहालले ७१ मत ल्याएका छन् । त्यसैगरी काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ । वडा १ मा राजकुमार यादव, २ मा हिमालकुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा शखीचन्द्र ठाकुर वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं ३ मा भुइँकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भुइँकटहरकै स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्