झापा, जेठ ९ । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।

सोमबार सपथ ग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् ।
नगरपालिकाको कार्यालयमा आयोजना गरिएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएकी थिइन् ।सपथ ग्रहणपछि नगरप्रमुख प्रसाई,उपप्रमुख संग्रौलासहित वडाध्यक्षहरुले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गरेकी छन् । निम्न वर्गका जनताको पहिचान गरि निशुल्क स्वास्थ्य विमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाईको व्यवस्था गर्ने निर्णय गरिएको उनले बताइन् । सपथ ग्रहण कार्यक्रममा नगरप्रमुख प्रसाईले कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसंगै उद्यमशीलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उत्पादनका लागि सिँचाईको व्यवस्था गरिने बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा इञ्चार्ज अग्नि खरेल, संविधानसभा सदस्य मनकुमार गौतम, नरेश खरेल,अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्वसदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण शिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यापानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्