झापा , जेठ ११ । राजनीतिक दलहरुलाई बहिष्कार गर्ने क्रम झापामा पनि देखिएको छ ।

स्वतन्त्र उम्मेदवारको जित र नो भोटको मतदानले यसलाई पुष्टि गरेको हो । स्वतन्त्र उम्मेदवारहरु राजधानीमा बालेन्द्र साह , धरानमा हर्क साम्पाङ , जनकपुरमा मनोजकुमार साह र धनगढीमा गोपाल हमालले भारी मतका साथ जित हासिल गरिरहँदा झापामा पनि राजनीतिक दल इतर स्वतन्त्र उम्मेदवारहरुले उत्साहजनक मत पाएका छन् । झापामा चारजना वडाध्यक्षसहित ९ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन् । बाह्रदशी वडा नं ४ को वडा अध्यक्षसहित पुरै टीम जितेका स्वतन्त्र उम्मेदवारहरुले झापा गाउँपालिका वडा न. ३ र ५ को वडाध्यक्ष ,गौरादह ३ को वडाध्यक्ष र गौरीजञ्ज ५ को वडा सदस्यमा विजयी हासिल गरेका हुन् । विजेताहरुले पाएको मतसंगै विजेता हुन नसकेका अन्य स्वतन्त्र उम्मेदवारहरुको मत पनि सम्माजनक रहेको छ ।

त्योसंगै झापामा नो भोट भनेर कतिपय ठाउँमा मतदान गरेको पाइएको छ । राइट टु रिजेक्ट र राइट टु रिकलको आधारमा मतदाताहरुले दलहरुलाई मतदान नगरी बहिष्कार गरेका छन् । ‘ एमसीसी मुर्दावाद , दलालहरुलाई मत दिनौं ’भनेर मतपत्रमा लेखेर कसैलाई पनि मत नदिएको पाइएको बाह्रदशी गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत पुष्कलराज प्रसाईले बताए । ‘त्यस्ता ४–५ वटा मतपत्र भेटिए’उनले भने ,‘जसमा उनीहरुका मनोगत कुराहरु लेखिएका थिए । ’ त्यस्तै बिर्तामोड नगरपालिकामा पनि त्यस किसिमको मतपत्र मतगणनाका क्रममा भेटिएको मुख्य निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।

स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढिरहेका बेला नो भोटको सिम्बोलको रुपमा झापामा पनि केही मतदाताहरुले त्यसरी मत दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए । ती मतपत्रहरुलाई बदर गरिएको उनले जनाए । स्वतन्त्र उम्मेदवारहरुले पाएको बढ्दो मत राजनीतिक दलहरुको बहिष्कारको प्रतिक रहेको कांग्रेस नेता सुधिरकुमार शिवाकोटीले बताए । नेपालमा नो भोटको प्रावधान नभएर बालेनजस्ता स्वतन्त्र उम्मेदवारहरुलाई मतदाताले बहिष्कारको मत दिएको उनको बुझाइ छ । झापामा उन्नत लोकतन्त्र पार्टीले नो भोटको अभियान संचालन गरेको प्रदेश नं १ का संयोजक दिपेन याक्थुम्बाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्