झापा , जेठ ११ । गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

विशेषगरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको छ । विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, संयुक्त राज्य अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमितहरु भेटिएका छन् । डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिदै जान्छ । त्यसपछि रेसाहरु पानी भरिएको फोकामा परिणात हुन्छन् । मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ । मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केसहरू हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकाहरूलाई मंकिपक्सले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ । जसले मृत्यु समेत हुन सक्छ । बिफरविरुद्धको खोप मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ । यद्यपि त्यस्ता खोपहरू आपूर्तिमा सीमित छन् र थोरै देशहरूमा मात्र उपलब्ध छन्। अन्य भाइरल रोगहरूको लागि काम गर्ने एन्टिभाइरल औषधिहरूले पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ । यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ । मंकिपक्स सन् १९७० मा पहिलो पटक देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये १ जनामा मृत्यु भएको देखाइएको छ । प्रारम्भिक खोजमा बाँदरबाट यो भाइरस भेटिएकाले यसको नाम मन्कीपक्स राखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्