झापा , जेठ १३ । स्वतन्त्र जनप्रतिनिधि वालेन साह र हर्क साम्पाङले चर्चा पाइरहँदा विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरुले उनीहरु जस्तै नयाँपन गर्न खोजेका छन् ।

घुम्ने कुर्सीमा नबसी कसैले गुन्द्रीमा बसेर , कसैले काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका छन् । कसैले पदभार ग्रहण गरेकै दिन चर्चा पाउने खालका निर्णय गरेका छन् । मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीले वडा कार्यालयमा रहेको घुम्ने कुर्सीलाई हटाएर गुन्द्रीमा बसेर पदभार सम्हालेका थिए ।

त्यस्तै मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले घुम्ने कुर्सीमा नबस्ने भन्दै त्यसलाई हटाएर काठको कुर्सीमा बसेर पद बहाली गरेका छन् । आफू सुविधा भोग्न नआएको भन्दै उनले घुम्ने कुर्सी नचाहिने भएकाले काठको कुर्सीबाट सेवा दिने बताए ।
उता,कार्यभार सम्हालेकै दिन शिवसताक्षीका नगर प्रमुख मोराहाङ्ग थोप्राले दमकल खरिद गर्ने निर्णय गरेका छन् । नगर प्रमुख थोप्राले आर्थिक वर्ष ०७९–०८० बाट खर्च हुने गरी दमकल खरिदको निर्णय गरेका हुन् ।

त्यस्तै भद्रपुरका नगर प्रमुख गणेश पोखरेलले सात बुँदे पहिलो निर्णय गरेका छन् । उनले नगरपालिकाको कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरी कार्यालयबाट सम्पादन भएका सेवा र कार्यहरूको सम्बन्धमा नागरिक एवम् सेवाग्राहीहरूबाट पृष्ठपोषण लिने प्रणालीलाई संस्थागत गर्ने, सरकारले पहिचान गरेका एक लाख रुपैयाँसम्मको उपचार सहुलियत प्राप्त गर्ने गम्भीर प्रकृतिका रोगहरू लागेका बिरामीका लागि नगरपालिकाबाट हाल उपलब्ध गराउँदै आएको यातायात खर्च ५ हजार लाई दोब्बर गरी १० हजार उपलब्ध गराउने क्रमशः सो रकम वृद्धि गर्दै ५० हजारसम्म पु¥याउनेलगायतका निर्णय गरेका हुन् ।

त्यस्तै अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बलदेव गोम्देनले पदभार ग्रहण गर्दै पाँच वर्षमा एक हजार आवास बनाउने घोषणा गरेका छन् । बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले पहिलो बैठकमा बिर्तामोड नगरभित्र रहेका सम्पूर्ण गरिब तथा असहाय परिवारहरुको मापदण्ड तयार गरि निशुल्क स्वास्थ्य बीमा गरी बिपन्नहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नगरक्षेत्रभित्र रहेका सम्पुर्ण खेतीयोग्य जमिनहरुमा स्यालोट्युवेल,कुलो तथा पैनीहरुको निर्माण गरि ५ वर्षभित्रमा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्ने निर्णय गरेकी छन् ।

त्यस्तै कमल गाउँपालिकामा अध्यक्ष हुकुमसिंह राईले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गरेका छन । पाँच बर्षसम्म बन्न नसकेको गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण तत्काल हालकै स्थानमा थाल्ने, स्थानीय सरकारी स्वास्थ्य संस्थामै स्वास्थ्य बीमा कार्यक्रमको सेवा सञ्चालन गर्ने र बालमैत्री गाउँपालिका घोषणा उन्मुख रहेको कमलमा चालू आर्थिक बर्षभित्रै त्यसलाई पूर्णता दिने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाकी अध्यक्षमा फूलवती राजवंशीले जिम्मेवारी सम्हालेलगत्तै पालिकामा सञ्चालित सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पठनपाठन निशुल्क गर्ने निर्णय गरेकी छन् । यसरी यतिबेला दलका प्रायः सबै जनप्रतिनिधिहरुले चर्चा पाउन केही न केही बोलेर र गरेर देखाउने प्रयास गरेका छन् ।

अहिले बोल्दा जति चर्चा कमाउँछन् पछि त्यसलाई पुरा गर्न नसक्दा त्योभन्दा बढी बद्नाम कमाउँछन् । बालेन र हर्क बन्ने चक्करमा पुरा नै गर्न नसकिने घोषणा नगर्न बिर्तामोडका सन्तोष अग्रवालले आग्रह गरेका छन् । त्यस्तै शिवसताक्षीका निवर्तमान वडाध्यक्ष सत्यनारायण राजवंशीले नेपालका सबै जनप्रतिनिधि हर्क साम्पाङ जस्तो भए नेपाललाई ५ बर्षमै युरोप हेर्न पाउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्