बिर्तामोड ,जेठ १४ । वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ ।

लेडी जेसीज वर्ष २०२१ को मानार्थ सदस्य रहेकी नगरप्रमुख प्रसाईलाई शुक्रवार सम्मान गरिएको हो । झापा जिल्लाकै पहिलो महिला नगरप्रमुख प्रसाईलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य,नेपाली कांग्रेसका नेता गोपालकुमार बस्नेत र वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
सम्मान ग्रहणपछि बोल्दै नगरप्रमुख प्रसाईले आफूले पाएको जिम्मेवारी महत्वपूर्ण ढंगले निर्वाह गर्ने प्रतिवद्वता जनाइन् । उनले अग्रज,समाजसेवी,सरोकारवालाहरुको सकारात्मक सल्लाह सुझाव र सहयोगले मात्रै नगरलाई उत्कृष्ट बनाउन सकिने भन्दै त्यो सबैसंग अपेक्षा गरेको धारणा राखिन् । नगरप्रमुख प्रसाईले विकास निर्माण र न्यायका क्षेत्रमा कुनै पनि विभेद नहुने पनि बताइन् ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य बस्नेतले उपप्रमुखमा रहँदा विवाद रहितढंगले कार्यकाल सम्पन्न गरेकी प्रसाईलाई नगर प्रमुखको रुपमा पाउनु नगरको गौरव र भाग्यको कुरा भएको भन्दै प्रशंसा गरे । नगरप्रमुख प्रसाईको धैर्यताका साथ सबैको कुरा सुन्ने र सबैलाई सम्मान व्यवहार गर्ने बानी रहेको भन्दै उनले कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
सोही कार्यक्रमका बीच वीरता लेडी जेसीजको संस्थापक सदस्य कल्पना भण्डारी,दमयन्ता दाहाल र शिला ढकाललाई पनि सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष मदनगोपाल सुव्वा, नारी सञ्चारगृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल,वीरता जेसीजका अध्यक्ष प्रविण खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत संस्थाकी वर्ष २०२२ की कानुनी सल्लाहकार हिमा पौडेलले गरेकी थिइन् ।संस्थाकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने जेसी विमला भट्टराईले आस्था वाचन र संस्थाकी कार्यकारीणी उपाध्यक्ष झुमा भट्टराईले मिसन भिजन प्रस्तुत गरेकी थिइन् ।