प्रतीक्षा राजवंशी,
झापा , जेठ १४ । अस्तित्व नै संकटमा परेपछि राजवंशी जाति राजनीतिमा अगाडि बढ्न बाध्य भएका छन् ।

गाउँपालिका अध्यक्ष कालेन्द्र , फूलवती र उपप्रमुख जलवर्षा राजवंशी

राजनीतिमा पाखा लगाइएका पूर्वका मूलवासी राजवंशीहरु पुरानो अवस्थामा फर्किन थालेका हुन् । राणाकालीन र पंचायती व्यवस्थामा यहाँको बागडोर चलाएका राजवंशीहरुलाई २०४६ सालपछि किनारा लगाउँदै लगिएको थियो । लोकतन्त्रपछि त झन् उनीहरु ओझेलमा परेका थिए । तर,२०७९ सालको स्थानीय तहको निर्वाचनमा देखिएको उनीहरुको बढ्दो सहभागिताले अधिकार प्राप्तिका लागि लागिपरेको कुरा पुष्टि भएको छ । २०७४ सालको निर्वाचनको तुलनामा २०७९ सालको निर्वाचनमा उनीहरुको सहभागिता बढेको हो । सहभागितासंगै विजयी हुनेहरुको संख्या पनि थपिएको छ । यस वर्षको निर्वाचनमा झापा जिल्लामा २३१ जना राजवंशी उम्मेदवारहरुले भाग लिएका थिए । त्यसमध्ये ५३ जना निर्वाचित भएका छन् । जुन २३ प्रतिशत हो ।

अघिल्लो निर्वाचनमा ४८ जनाले जितेका थिए । यस वर्ष दुईजना गाउँपालिका अध्यक्ष , एकजना नगर उपप्रमुख , १० जना वडाध्यक्ष र ४१ जना वडाले सदस्यमा जितेका हुन् । कचनकवल गाउँपालिका अध्यक्षमा कालेन्द्रप्रसाद सिंह राजवंशी , गौरीगञ्ज गाउँपालिका अध्यक्षमा फूलवती राजवंशी र गौरादह नगरपालिकाको नगर उपप्रमुखमा जलवर्षा राजवंशी गरी तीनजनाले अध्यक्ष र उपप्रमुखको पद जित्दा भद्रपुर ४ का वडाध्यक्षमा हंशधर राजवंशी , ६ का वडाध्यक्षमा रतिया राजवंशी ,कचनकवल ७ का वडा अध्यक्ष भरत राजबंशी हल्दिवारी २ को वडाध्यक्षमा शुकलाल राजवंशी , बाह्रदशी १ का वडाध्यक्षमा टेकबहादुर सिंह राजवंशी ,बाह्रदशी ५ का वडाध्यक्षमा वीरबहादुर सिंह राजवंशी, झापा ५ का वडाध्यक्षमा कृष्णप्रसाद राजवंशी , गौरादह ८ का वडाध्यक्षमा गणेशकुमार राजवंशी , गौरीगञ्ज १ का वडाध्यक्षमा कार्तिकलाल राजवंशी र सोही गाउँपालिका वडा नं २ का वडाध्यक्षमा किनालाल राजवंशी निर्वाचित भएका हुन् । अन्य वडा सदस्य रहेका छन् ।

झापाका राजवंशी वडाध्यक्षहरु

अघिल्लो निर्वाचनमा एकजना गाउँपालिका अध्यक्ष , दुईजना उपाध्यक्ष , १२ जना वडाध्यक्षसहित ४८ जनाले जितेका थिए । यस पटकको निर्वाचनमा अन्यले जितिरहँदा राजवशी अगुवाहरु असारु राजवंशी , खड्गप्रसाद राजवंशी र रामकुमारसिंह राजवंशीले हार बेहोरेका छन् । राजवंशी बहुल क्षेत्रमै उनीहरुले पराजय भोगेका हुन् । बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्गप्रसाद राजवंशी र रामकुमारसिंह राजवंशी भिडेका थिए । दुवै पराजित भएर अर्को उम्मेदवारले जित हासिल गरेका छन् । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचन लडेका असारु राजवंशीले सबै पार्टीगत र जातिगत मत नपाउँदा हार बेहोर्नुपरेको बिश्लेषण गरिएको छ ।

त्यस्तै मोरङमा पनि राजवंशी जनप्रतिनिधिहरुको सम्मानजनक जित भएको छ । सुनवर्षी नगरपालिकाको नगरप्रमुखमा श्याम राजवंशी , कटहरी गाउँपालिकाको उपाध्यक्षमा सितादेवी राजवंशी , सुनवर्षी २ को वडाध्यक्षमा विनोदकुमार राजवंशी , जहदा १ को वडाध्यक्षमा बाबुराम राजवंशी , कटहरी १ को वडाध्यक्षमा हरिनारायण राजवंशी , २ को वडाध्यक्षमा सुरेन्द्रप्रसाद राजवंशीले जितेका छन् ।

अस्तित्व नै लोप हुन लागेका राजवंशीहरु यसरी जागरुक हुनु गर्वको विषय भएको राजवंशी विकास प्रतिष्ठानकी उपाध्यक्ष रुपा राजवंशीले बताइन् । बसोबास र जनसंख्याको हिसाबले राजवंशी जनप्रतिनिधिहरुको संख्या अझै सन्तोषप्रद नभएको उनले प्रतिक्रिया दिइन् । झापा र मोरङमा जनसंख्या र बसोबासको हिसाबले अगाडि भएपनि राजवंशीहरु हरेक क्षेत्रमा पछि छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्