बिर्तामोड , जेठ १४ । बिर्तामोड नगरपालिकामा पार्टीका कुनै पनि उम्मेदवारले जित्न नसकेपछि नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर कमिटी इन्चार्ज युवराज दाहालले पदबाट राजीनामा दिएका छन् ।

उनले माओवादी केन्द्रको प्रदेश नं. १ कमिटीलाई राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेस र माओवादीले गठबन्धन बनाएर निर्वाचन लडिरहँदा उनी संयुक्त निर्वाचन परिचालन मूल समितिको सह–संयोजक समेत रहेका थिए । हालै सम्पन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनेका कसैलाई पनि निर्वाचित गराउन नसक्नु र पार्टीले निर्वाचनमा शर्मनाक पराजय भएको कुराको जिम्मेवारी लिँदै आफूले नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर कमिटीको ईञ्चार्जको जिम्मेवारीबाट राजिनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले राजीनामा पत्रमा लेखेका छन् , ‘ निर्वाचनमा हुने विजय र पराजय पार्टी जीवनका निम्ति नियमित प्रक्रिया हुन् । विजयी हुँदा श्रेय बाँड्ने र पराजय हुँदा जिम्मा लिने काम कसै न कसैले गर्नै पर्दछ । मेरो राजिनामापछि पनि पार्टी आन्दोलन, जनता र राष्ट्रको हितमा विगत करिव २ दशकदेखिको मेरो अविराम यात्रामा कुनै कमी हुने छैन । सुसंस्कृत र सभ्य समाज निर्माण गर्न कति पनि विचलित नभई राजनैतिक यात्रा गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्