बिर्तामोड, जेठ १४ । बिर्तामोड बजारलाई शनिबार बन्द गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् ।

साप्ताहिक रुपमा हुने बन्दको विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरुले सरकारी विदाको दिन शनिबार नै बन्द गर्नु पर्ने धारणा राखेका हुन् ।यसअघि बिर्तामोड सोमबार बन्द हुँदै आएपनि प्रभावकारी हुन नसकेको भन्दै शनिबार बन्दको चर्चा चल्दै आएको हो ।

कार्यक्रममा बोल्दै नेपाल अलैची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले साप्ताहिक बन्द शनिबार हुनुपर्ने बताए । बैंक,वित्तीय कारोवारका हिसावले शनिबार कुनै पनि कारोवार नहुने भएकाले यस दिन व्यवसायीहरुको लागि उपयुक्त भएको धारणा राखे । यस्तै नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष तथा युवा व्यवसायी सुवास भट्टराईले सुरक्षाको व्यवस्था गरेर राति १० बजेसम्म बजार खोल्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । स्थानीय सरकार,प्रहरी,प्रशासनसंग समन्वय गरेर निजी क्षेत्रले सुरक्षित वातावरण बनाउनु पर्ने उनको भनाई छ । सामाजिक अगुवा,राजनीतिक दल,उद्योगी,व्यवसायीहरु लाग्नसके रातिको समयमा कर्मचारीहरु बाहिर आउन जानसक्ने व्यवस्थाको लागि नगर बस सञ्चालन गर्न सकिने पनि उनले बताए । शनिबार बन्द गर्न उपयुक्त रहेको भएपनि व्यवसायीहरुलाई बन्द गर्ने र खोल्ने दिनको बाध्यकारी अवस्था सृजना गर्न नहुने भट्टराईको धारणा छ ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले व्यवहारिक रुपमा शनिबार बन्द गर्नु उचित रहेको धारणा राखे । कसैैले हप्तामा सात दिन नै पसल खोल्न चाहे पनि दिने व्यवस्था गर्नु पर्ने भन्दै उनले नेपाल सरकारले पनि हप्तामा एक दिन शनिबारमात्र बिदाको व्यवस्था गर्नु पर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा हार्डवेयर व्यवसायी संघका मातृका कोइराला,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष अग्रवाल,पुस्तक व्यवसायी संजय शर्मा सापकोटा, व्यवसायी राजेन्द्रकुमार थापा,शंकर ढुङ्गेल,याम विमली,उपेन्द्र बानियालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोडका अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई संस्थाकी सचिव गोमा भट्टराईले सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्