झापा , जेठ १६ । जोमसोमका आइतबार बिहान उडेको तारा एअरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा फेला परेको छ ।

थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला पारेका हुन् । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए ।
अन्य साथीहरु आइतबार राति नै फर्के पनि गौचन यार्सा खोज्न गएका इशान गुरुङसमेतको टोलीसँग बास बसेका थिए । उनै इशान गुरुङले आइतबार विमान आफूहरुकै टाउकोमाथि उडेको र ठोक्किएको आवाज सुनेको तर बाक्लो कुहिरोले नदेखेको भनी प्रहरी प्रशासन र पालिका अध्यक्ष, वडाध्यक्षलाई खबर गरेका थिए ।

सोही आधारमा खोजीलाई मानापाथी हिमालमुनि केन्द्रित गरिएको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए । कोवाङबाट तीन घन्टा माथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

पोखराबाट आइतबार बिहान ९ ः ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएको थियो । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमाल मुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा ठोक्किएको थियो ।

प्रहरी र स्थानीयले शव तथा अन्य सामग्री संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । जहाजमा भारत घर भई नेपाल भ्रमणमा आएका भैवभी बन्देकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र रीतिका त्रिपाठी थिए । यस्तै जर्मनीका माइक ग्रिट ग्राफ र युमी उइनर पनि थिए । बाँकी १६ जना नेपाली रहेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए । धनुषाका इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, गोरखाका एकै परिवारका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ र रोजिना श्रेष्ठ, ओखलढुंगाका प्रकाश सुनुवार, धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ र काठमाडौंका राममाया तामाङ पनि जहाजमा थिए ।

तारा एयरकै सिनियर पाइलट बसन्त लामा पनि सोही विमानमा थिए । विमानस्थल स्रोतका अनुसार आइतबार बिदा लिएका पाइलट लामा घुम्नका लागि साथीसँग मुस्ताङ हिँडेका थिए । जहाज क्याप्टेन घिमिरे र कोपाइलट उत्सव पोखरेलले उडाएका थिए । त्यसमा एयर होस्टेज किस्मी थापासहित १६ नेपाली र ६ विदेशी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्