पथरीशनिश्चरे, जेठ १६ । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर– ५ को भौसाबारीमा मानसिक सन्तुलन गुमाएकी महिलाले पिपलको फेदमा शिशुको जन्म दिएकी छिन् ।

शनिबार दिउँसो ३ बजे स्थानीय र स्वास्थ्यकर्मीको सहयोगमा छोरीको जन्म दिएकी हुन् ।
उनलाई कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीसहितको टोलीले उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा एम्बुलेन्समार्फत पुर्याएका छन् । उनी सोहि पिपलको रुखमुनि तीन दिन अघिदेखि बस्दै आएकी थिइन् ।

भौसाबारी चोकका स्थानीयहरुले महिलालाई विरामी भएको थाहा पाएपछि गाउँपालिका, स्वास्थ्यकर्मी र प्रहरीलाई खबर गरेका थिए । सकुशल रुपमा जन्म भएपछि बच्चाको लागि गाउँपालिका उपाध्यक्ष भोला अधिकारीबाट ४ हजार, गाउँपालिकाबाट लगाउने लुगा र रकम, स्थानीयबाट अन्य सहयोग जुटेको थियो ।

प्रष्टसित बोली नबुझिने ती घुमन्ते महिला तीन महिना अघिदेखि भौसाबारी चोक आसपासमा खाने–बस्ने गर्दै आएको स्थानीयहरुले बताएका छन् । यसअघि ती महिला पसल, घरमा गएर मागेर खादै हिड्ने गरेकी थिइन् ।

हालसम्ममा मानव सेवा आश्रम विराटनगरमा १० जना सडक मानवलाई उद्दार गरी सुरक्षित बासको लागि पठाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्