बिर्तामोड,जेठ १७ । बिर्तामोड ३ स्थित सैनिकमोडमा रहेको मेची आँखा अस्पतालमा उपचारार्थ आउने विरामीलाई अस्पतालभित्रै होटल व्यवसायीले तानातान गर्ने विकृति नौलो होइन । अस्वस्थ होडबाजी चल्ने क्रममा त्यस विषयमा होटल व्यवसायीहरुबीच विवाद भएको छ ।

अस्पतालले भोलेन्टियर्स भन्दै दुईजना होटल व्यवसायीलाई मात्र अस्पताल हाताभित्र छिर्न दिएर ग्राहक लैजाने अनुमति दिँदा अरु व्यवसायी आक्रोशित भएका हुन् । दुईजना होटल व्यवसायीलाई मात्र भित्र छिर्न दिएर अरुलाई जान नदिएको विषयलाई लिएर आपत्ति जनाउँदै होटल व्यवसायीहरुले हिजो फेरि अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् । बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीको उपस्थितिमा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ , जिल्ला उपाध्यक्ष राजन प्रसाई , महासचिव शिवराज पौडेलसहितको टोलीले अस्पतालका लेखापाल आलोक श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएको हो । टोलीमा रामेश्वर मण्डल , गोपाल राजवंशी , कृष्णप्रसाद राजवंशी, कोशिस घिमिरेलगायतका होटल व्यवसायी पनि सहभागी थिए ।

यसअघि उनीहरुले त्यस विषयमा लिखित निवेदन दिएका थिए । अस्पतालले भोलेन्टियर्स भन्दै न्यू गुवाहाटी होटलका संचालक विकास खरेल र ब्रम्हपुत्र होटलका संचालक दिलिप सिलवाललाई मात्र अस्पताल हाताभित्र प्रवेश गर्न दिएको हो । अस्पतालभित्र प्रवेश गर्न पाएका ती दुई होटल संचालकहरुले भएभरका सबै ग्राहकहरु आआफ्नो होटलमा लैजाने गरेको अन्य व्यवसायीको गुनासो छ ।

मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पतालमा आउने गरेका भारतीय विरामीहरुलाई लक्षित गरी त्यस क्षेत्रमा करीव ५० वटा होटल संचालनमा छन् । ती होटलहरुले विरामीहरुसंग निकै दलाली गर्ने गरेको पाइएको छ । होटलहरुको दररेटमा एकरुपता छैन । कुनै कुनै होटलले होटल व्यवसायी संघले तोकिदिएको दररेटभन्दा निकै तल झरेर रु एक सय भारुमा पनि कोठा दिने गरेको पाइएको छ ।

वडाध्यक्ष बुढाथोकीले होटल व्यवसायीहरुबीच देखिएको विवादका सम्बन्धमा तत्काल बोर्डको बैठक राखेर समाधान खोज्न अस्पतालका लेखापाल श्रेष्ठलाई आग्रह गरे । उनले होटलहरुकै कारण गहनाको रुपमा रहेको मेची आँखा अस्पताल बद्नाम हुन लागेको भन्दै त्यस्ता समस्यालाई बेलैमा निराकरण गर्नुपर्नेमा जोड दिए । लेखापाल श्रेष्ठले त्यस विषयलाई तत्काल बोर्ड बैठकमा राख्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्