झापा । जेठ १७ । झापाको दमकमा मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ .५ बस्ने २१ वर्षिय चन्द्रकुमार योङया र सोही ठाउँका २० वर्षिय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेका छन् । जेठ १३ गते दमक ६ स्थित नेपालीरिका होटल अगाडी पार्किङ गरी राखेको वडा नं.४ बस्ने सुमन खड्काको मे ११ प ५५१२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो । खोजतलास गर्ने क्रममा शंखधर चोकमा योङया र कुरुवाङले चलाईरहेको अवस्थामा फेला पारी दुवैलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरुलाई अनुसन्धान गर्ने क्रममा थप ३ वटा मोटरसाइकलहरु बिभिन्न स्थानबाट चोरी गरेको भनी खुल्न आएको छ । ती मोटरसाइकलहरु समेत खोजी गरी ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेटिएका मोटरसाइकलहरुमा प्र.१–०१–०१५ प ८६९० नम्बरको पल्सर मोटरसाईकल रहेको छ । जुन जेठ ९ गते गायत्री बोर्डिङ अगाडी पार्किङ गरी राखेको अबस्थामा हराएको थियो । दमक ५ बस्ने ४१ वर्षिय सविन राईको सो मोटरसाइकल जेठ १४ गते पाँचथर मिक्लाजुङ ७ लुमाङदिममा फेला परेको हो ।

त्यस्तै ईलाम चुलाचुली ८ बस्ने ३३ वर्षिया भिमा अधिकारीको प्र.१–०१–०१४ प १२४० नम्बरको पल्सर मोटरसाईकल जेठ ६ गते नेपालीरिका होटल अगाडीबाटै हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ ४ रबिमा फेला परेको हो ।त्यस्तै दमक ३ बस्ने ३० वर्षिय खेमराज गुरागाईको–मे ८ प ९२९७ नं. को पल्सर मोटरसाईकल जेठ ३ गते दमक ६ स्थित नमुना मार्केटबाट हराएकोमा जेठ १५ गते पाँचथर मिक्लाजुङ ७ मौवामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्