बिर्तामोड, जेठ १८ । किसान सूचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको कृषि पशुपन्छी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिए ।

बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तीन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदानअन्तर्गत रहेको यस कार्यक्रममा सूचिकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरीने र त्यसैका आधारमा सेवा सुविधा उपलव्ध गराउने सरकारको योजना अनुसार बिर्तामोडमा काम अघि बढाइएको हो ।

झापाका कमल र बुद्धशान्ति गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने दमक नगरपालिका र कचनकवल गाउँपालिकामा चाँडै सुरु हुने कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । बिर्तामोडका २ वटा वडामा आगामी असार १५ गतेसम्ममा तथ्याङ्क संकलनको काम सकिने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन् ।

कृषिज्ञान केन्द्र झापाका वागवानी विकास अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन अंकित भट्टराईले तालिमको सहजीकरण गरेका थिए । तालिमको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् । शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्