झापा, जेठ १८ । नेपाली कांग्रेसको अन्तर्घातकै कारण स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको नेकपा माओवादी केन्द्रको बिर्तामोड नगर कमिटीले निष्कर्ष निकालेको छ ।

गठबन्धन भएका झापा जिल्लाका ११ पालिकामध्ये बिशेषगरी बिर्तामोडमा कांग्रेसले माओवादी गठबन्धनका उम्मेदवारहरुलाई बढी अन्तर्घात गरेको कमिटीको ठम्याइ हो । साथै माओवादीकै कार्यकर्ताहरुले पनि अन्तर्घात गरेकाले कार्वाही गर्नुपर्ने सुझाव समेत आएको जनाइएको छ ।

स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि त्यसको समीक्षा गर्न बुधबार बसेको नगर कमिटीको बैठकले कांग्रेसकै अन्तर्घातका कारण माओवादीका उम्मेदवारहरुले हार व्यहोर्नुपरेको निष्कर्ष निकालेको नगर अध्यक्ष मोहन सुब्बाले बताए । उनले प्रत्येक वडाबाट तहगत रुपमा समीक्षा भइसकेपछि फेरि पूर्णरुपमा नगर कमिटीको समीक्षा हुने जानकारी दिए । जेठ १८ देखि २५ गतेसम्म वडाहरुको समीक्षा गर्ने कार्यतालिका रहेको छ ।

बिर्तामोड नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेर पराजय बेहोरेका माओवादीका सहइन्चार्ज सीपी कडरियाले कांग्रेसभित्रको घात अन्तर्घातको घानभित्र आफूहरु परेको प्रतिक्रिया दिए । माओवादीले गठबन्धनलाई इमान्दारपूर्वक मतदान गरेपनि कांग्रेसले नगरेको उनको बुझाइ छ । ‘हामीले गठबन्धनलाई ओभरल भोट दियौं ’ उनले भने ,‘ कांग्रेसको चाहिँ माओवादीप्रति अरुचि देखियो ।’

त्यस्तै नेकपा माओवादी केन्द्र दमकले गठबन्धनका दल कांग्रेस र राप्रपाको अन्तर्घातले आफ्ना उम्मेदवार पराजित भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको समीक्षा बैठकले गठबन्धनका अरू उम्मेदवार विजयी हुँदा माओवादीका उम्मेदवार हार्नुपरेको निष्कर्ष निकालेको हो ।

दमकमा माओवादीले चार वडाध्यक्षसहित १६ जना उम्मेदवार उठाएको थियो । गठबन्धनको अन्य दलका उम्मेदवार विजयी हुँदा माओवादीका सबै उम्मेदवार पराजित भए । हारको मुख्य कारण कांग्रेस नै रहेको माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गौतमले बताए ।

‘माओवादी हारको मुख्य कारण कांग्रेसभित्रको अस्वस्थ प्रकारको अन्तरविरोध हो । माओवादीका वडाध्यक्षका उम्मेदवार त पराजित भए नै । अरू गठबन्धनबाट सबै उम्मेदवार विजयी हुँदै गर्दा माओवादीबाट वडा सदस्यका उम्मेदवार किन हारे ?’ उनले भने, ‘कांग्रेसले अन्तर्घात गर्यो । राप्रपाले पनि केही अन्तर्घात गर्यो नै ।’

दमकमा कांग्रेसका शीर्ष नेता हुँदा पनि गठबन्धनका उम्मेदवारलाई जिताउन नसकेको उनको आरोप छ । दमकमा कांग्रेसबाट केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बा, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा, रमा लिम्बूलगायत नेताले उचित भूमिका खेल्न नसक्दा गठबन्धनले प्रमुख, उपप्रमुखमा जिते पनि अल्पमतमा पर्नुपरेको माओवादीको निष्कर्ष छ ।

हारको कारण अन्तर्घात भएपनि प्रमुख, उपप्रमुखमा जित निकाल्नु सफलता भएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए । ‘हामी हार्यौँ । तर मुख्य उद्देश्य पूरा भयो,’ उनी भन्छन्, ‘प्रमुख, उपप्रमुख जिताउनु हाम्रो सफलता हो ।’

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा दमकमा एमालेविरुद्ध राप्रपा, कांग्रेस, माओवादीलगायत दलले गठबन्धन गरेका थिए । प्रमुख, उपप्रमुखसहित तीनवटा वडाध्यक्ष गठबन्धनले जिते पनि एमाले दमकमा शक्तिशाली रह्यो । दमकमा एमालेले दुईतिहाइभन्दा धेरै जित्यो । गठबन्धन भए पनि माओवादीका एकजना उम्मेदवार पनि विजयी हुन सकेनन् ।

गठबन्धनका अन्य उम्मेदवार पराजित हुँदै गर्दा पनि कांग्रेस दमकले भने अझै समीक्षा बैठक बोलाएको छैन । कांग्रेस दमकका सभापति प्रकाश प्रसाईंले बुधबार पदाधिकारी बैठक बोलाइएको र वडाबाट सुझाव मागेर चाँडै चुनावी समीक्षा बैठक बोलाइने बताए ।
माओवादीलाई चुनावी गठबन्धनबाट कांग्रेसभन्दा बढी घाटा लागेको छ । जिल्लाका १० वटा पालिकामा उपप्रमुख÷ उपाध्यक्ष र २३ वटा वडाध्यक्ष भागवण्डामा पाएको माओवादीले एउटै पनि उपप्रमुख÷ उपाध्यक्ष जित्न सकेन । त्यस्तै मात्र ७ वटा वडाध्यक्षमा चित्त बुझाउनुपर्यो । कांग्रेसले ५० प्रतिशत जित निकाल्दा माओवादीले २१ प्रतिशत जित हासिल गरेको तथ्यांकले देखाएको छ । माओवादीले जितेको पद यस प्रकार रहेको छ ।

माओवादीले मेचीनगरमा उपप्रमुख र ४ वटा वडाध्यक्ष पाउँदा केवल एउटा वडाध्यक्ष जित्न सक्यो भने बुद्धशान्तिमा उपाध्यक्ष र एउटा वडाध्यक्ष पाएकोमा निर्वाचनमा निल खानुपर्यो । त्यस्तै बिर्तामोडमा पनि पाएको उपप्रमुखसहित दुईवटा वडाध्यक्षमा निल खानुपर्यो । भद्रपुरमा उपप्रमुख र तीनवटा वडाध्यक्षमध्ये एउटा वडाध्यक्ष मात्र जित्न सकेको माओवादी बाह्रदशीमा पनि निल भएको छ । उपाध्यक्ष र एउटा वडाध्यक्षमा निर्वाचन हारेको हो । त्यस्तै शिवसताक्षीमा उपाध्यक्ष गुमाउँदै एउटा वडाध्यक्ष जितेको माओवादीले कमलमा उपाध्यक्ष र एउटा वडाध्यक्षमा हार बेहोर्दै एउटा वडाध्यक्ष जितेको छ । दमकमा पाएको चारवटा वडाध्यक्ष, गौरादहमा उपप्रमुखसहित दुईवटा वडाध्यक्ष र अर्जुनधारामा उपप्रमुखसहित एउटा वडाध्यक्ष सबैमा निल भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्