झापा , जेठ १९ । झापाको चन्द्रगढीस्थित महेन्द्र पार्कमा पूर्व राजा महेन्द्र शाहको सालिक पुनस्र्थापना गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको सर्वदलीय बैठकले बिना अनुमति अनाधिकृत रुपमा त्यहाँ पूर्व राजा महेन्द्रको सालिक पुनस्र्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगरक्षेत्रमा रहेका सार्वजनिक स्थल तथा पार्कहरुको संरक्षण र सौन्दर्यकरण गरी सोको उपयोग सम्बन्धमा भद्रपुर नगरपालिकाले नगरसभाबाट निर्णय गरेर कार्यान्वयन गर्ने , नगरपालिकाबाट स्वीकृति नलिई सार्वजनिक स्थल र पार्कहरुमा अनाधिकृत रुपमा संरचना निर्माण , रंगरोकन ,सालिक निर्माण , अतिक्रमण जस्ता कार्य हुन नदिने सम्बन्धमा नगरपालिकालाई आबश्यक परेमा स्थानीय प्रशासनसंग समन्वय गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र युवा समूह नामक संस्थाले जीर्ण बन्दै गएको महेन्द्र पार्कलाई रंगरोकन गरी सालिक भत्काइएको ठाउँमा महेन्द्रको अर्को सालिक पुनस्र्थापना गर्न खोजेको थियो । जेठ २१ गते सालिक राख्ने कार्यक्रम रहेको थियो । बिर्तामोडका जयनारायण ढुंगानाले त्यस कामको लागि आर्थिक सहयोग गर्न खोजेका थिए । महेन्द्रको सालिक भत्काइएको ठाउँमा आआफ्ना पार्टीका नेताहरुको सालिक राख्नुपर्ने पार्टी प्रतिनिधिहरुले सर्वदलीय बैठकमा जोड दिएका थिए । भूमिगतपछि खुल्ला राजनीतिमा आएका माओवादी कार्यकर्ताहरुले महेन्द्र पार्कमा रहेको महेन्द्रको सालिक भत्काएका थिए । त्यसपछि सो पार्क संरक्षणविहीन बनेको छ ।

यसैबीच राप्रपाका बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलले स्वतन्त्र राष्ट्रवादी युवाहरुले महेन्द्र पार्कमा सरसफाइ र रंगरोकन गरेर राजा महेन्द्रको सालिक पुनस्र्थापना गर्न लागेको बेला भद्रपुरका मेयर गणेश पोखरेलले ठाडो आदेश गरेर रोक्न लगाउनु जनभावना बिपरित अत्यन्तै गलत निर्णय भएको सामाजिक संजालमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्