पथरीशनिश्चरे, जेठ १९ । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि मोरङका १७ स्थानीय तहलाई जम्मा ८ अर्ब २७ करोड ६१ लाख बजेट विनियोजन गरेको छ ।

जसमा समानीकरण अनुदानमार्फत ३ अर्ब १ करोड ५२ लाख, सशर्त अनुदानमार्फत ४ अर्ब ८६ करोड ९३ लाख, विशेष अनुदानमार्फत १८ करोड ४८ लाख र समपुरक अनुदानमार्फत २० करोड ६५ लाख रकम दिने निर्णय गरेको हो ।

संघीय सरकारले विनियोजन गरेको बजेटमा विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । चालू आर्थिक वर्षमा भन्दा महानगरले पाएको यो बजेट २ करोड बढी हो ।चालू आर्थिक वर्षमा विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बजेट पाएको थियो । विराटनगरले आगामी वर्षका लागि विशेष अनुदानमार्फत ४ करोड, सशर्त ७२ करोड १७ लाख रुपैयाँ र समानीकरण अनुदानमार्फत ४५ लाख ६८ हजार रुपैयाँ पाउने भएको हो ।
मोरङका ८ वटा नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउने नगरपालिका सुन्दरहरैंचा नगरपालिका हो । उक्त नगरपालिकाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । सबैभन्दा कम अनुदान पाउने नगरपालिका भने लेटाङ नगरपालिका हो । लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख बजेट परेको छ ।यस्तै , उर्लाबारी नगरपालिकाले ६१ करोड १७ लाख रुपैयाँको बजेट पाएको छ भने पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ । यो नगरपालिकाले चालू आवमा ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रूपैयाँको एकमुष्ट कूल बजेट रहेको छ । यस नगरपालिकाका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान शिर्षकमा १९ करोड २५ लाख , प्रदेश सरकारबाट सोहि समानीकरण अनुदानवापत १७ करोड ७ लाख ४६ हजार रुपैयाँ तथा राजस्व बाँंडफाँडवापत १२ करोड रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाका सूचना संयोजक भुपेन्द्र तिमल्सिनाले जानकारी दिए ।अन्य शिर्षकमा प्राप्त हुने बजेट सम्वन्धी विस्तृत जानकारी प्राप्त भइनसकेको बताए।

उता, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ ।
यस्तै ८ वटा गाउँपालिका रहेको मोरङमा सबैभन्दा बढी बजेट बुढीगंगा गाउँपालिकाले ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख बजेट पाएको छ ।

कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख रुपैयाँ बजेट पाएका छन् ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्