बिर्तामोड ,जेठ २० । ठाउँ नेपालको झल्को भारतको । त्यो ठाउँ टाढाको नभएर बिर्तामोड ३ सैनिकमोड हो ।

बिर्तामोड नगरपालिका कार्यालयदेखि करीब ५०० मिटर दक्षिण सैनिकमोडको आँखा अस्पताल क्षेत्र पुग्दा भारतमै पुगेको झल्को मिल्ने गर्छ । त्यहाँका होटल , पसलदेखि लिएर सेवादायी र सेवाग्राही समेत भारतकै जस्ता देखिन्छन् । अनि कारोबार पनि भारुमै बढी हुने गर्छ ।

होटल र पसलहरु भारतीय व्यवसायीहरुले संचालन गरेको जस्तो लाग्छ । तर, त्यस्तो होइन । नेपाली व्यवसायीहरुले संचालन गरेको व्यवसाय भारतको जस्तो हो । अधिकांश होटलहरुको बोर्ड बंगाली र आसामी भाषामा लेखिएको छ । जुन नेपालीहरुले बुझ्दैनन् । अनि प्रायः सबै होटल र पसलहरुको नाम पनि भारतीय ठाउँहरुबाट राखिएको छ ।

होटल इन्डियन , आसाम, कामाक्षा , गुवाहाटी , ब्रम्हपुत्र ,दिसपुर, सिक्किम लगायतका होटल त्यहाँ संचालनमा छन् । गुवाहाटी नाम गरेका चारवटा होटल संचालन छन् । त्यस्तै बिस्मिल्लालगायत मुस्लिम नामका होटल पनि छन् ।

मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पतालमा आउने भारतीय विरामीहरुलाई लक्षित गरी ती होटलहरु खोलिएका हुन् । नेपाली ग्राहकभन्दा भारतीय ग्राहक नै उनीहरुको प्राथमिकता हो । होटल संचालकहरुले नेपालीभन्दा आसामी , बंगाली र हिन्दीमै कुराकानी गरिरहेको सुन्न पाइन्छ । होटलका संचालक मात्र होइनन् , मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि त्यही विदेशी भाषामै बोल्ने गर्छन् । नेपालीहरुलाई तालिम गराएर आसामी र बंगाली भाषा सिकाउने गरिएको छ ।

भर्खरै होटल व्यवसायी संघ झापाले आँखा अस्पताल क्षेत्रका होटल व्यवसायीहरुका लागि आसामी र बंगालीको भाषाको तालिम संचालन गरेको थियो । भारतीय ग्राहकहरुलाई अपनत्व हुनेगरी उनीहरुको ठाउँको नामबाट उनीहरुकै भाषामा होटल नामकरण गरिएको होटल व्यवसायी रामेश्वर मण्डलले बताए । ग्राहक तान्नकै लागि त्यस्तो गरिएको उनको भनाइ छ ।

यसरी व्यवसाय गर्नकै लागि नेपाल र नेपालीको पहिचान गुमाउन नहुने बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले अन्तर्राष्ट्रिय भाषा अंग्रेजी सबैले बुझ्ने भएकाले नेपाली र अंग्रेजी भाषा बोर्डमा प्रयोग गर्न आग्रह गरेका छन् ।त्यस विषयमा होटल व्यवसायीहरुसंग सल्लाह गर्न लागेको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिएकी छन् ।

१ प्रतिक्रिया

  1. हाम्रो नेपाल हामी नेपाली पहिलो प्राथमिकता नेपाली भाषा नै हुनुपर्छ।ईन्डिया मा पनि नेपाली छन तर तेस्तो तेस्रो मुलुकको नाम हुदैन त!र पनि हामिहरू उपचारका काममा जने गरेको छौ । यो बिल्कुल गलत छ सबै बोर्ड मा नेपाली र ईंग्लिश नै हुनुपर्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्