बिर्तामोड , जेठ २१ । स्थानीय तहको निर्वाचनमा बिर्तामोड १० मा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग चुनावी तालमेल नगरेको भए निर्वाचन जितिन्थ्यो भनेर नेकपा एमालेले निष्कर्ष निकालेको छ ।

नेकपा एमालेको बिर्तामोड १० वडा कमिटीले आज राखेको चुनावी समीक्षा कार्यक्रममा सो निष्कर्ष निकालिएको हो । राप्रपासंगको चुनावी तालमेलले गर्दा पार्टीले प्रक्षेपण गरेको मत नआउँदा हार बेहोर्नुपरेको बैठकको निष्कर्ष थियो ।
चुनावी तालमेलले गर्दा मतदाताहरु झुक्किएर धेरै मत बदर भएको र राप्रपाका कार्यकर्ताहरुले अन्तर्घात गर्दा आफ्ना उम्मेदवारहरुले पराजय बेहोर्नुपरेको समीक्षा गरिएको वडा सभापति इन्द्र प्रसाईले बताए । बिर्तामोडका १० वटा वडामध्ये वडा नं १० मा एमालेले राप्रपासंग तालमेल गरेको थियो । निर्बाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरु वडाध्यक्ष , एउटा खुल्ला सदस्य , महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका थिए भने एउटा खुल्ला सदस्यमा राप्रपाका उम्मेदवारले जितेका थिए । बैठकमा नगर अध्यक्ष सुवास भट्टराईसहित नगर र वडाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।एक्लै निर्वाचन लड्दा गत निर्वाचनमा एमालेले दुईवटा सदस्य पद जितेको थियो । तर , यसपटक सो वडामा एमाले निल भएको छ ।