बिर्तामोड , जेठ २३ । बिर्तामोड ३ स्थित बिर्ताबजारमा बन्न लागेको बिर्ताबजार कृषि तथा सामुदायिक भवनका लागि व्यवसायीहरुले टहरा खाली गर्न थालेका छन् ।

साविक टहरा भएको स्थानमा सो भवन बन्न लागेको हो । हिजो ३ नं वडा कार्यालय र व्यवसायीहरुबीच पाँच दिनभित्र टहरा खाली गर्ने सहमति भएको थियो । टहरा खाली भएपछि जेठ २७ गतेबाट भवन निर्माण थालिने भएको छ । त्यस स्थानमा रहेका व्यवसायीहरुलाई भवन निर्माण नहुँदासम्मका लागि शिवालय मन्दिर र महेन्द्ररत्न माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर रहेको जग्गामा व्यवस्थापन गर्न थालिएको छ ।

नगरपालिकाले डोजरद्वारा जग्गा सम्याइदिएपछि व्यवसायीहरुले टहरा स्थानान्तरण गर्न थालेका छन् । शिवालयको जग्गामा बसेसम्म जग्गाको भाडा तिर्न नपर्नेगरी व्यवसायीहरुले आफै टहरा निर्माण गर्नुपर्ने सहमति भएको वडाध्यक्ष मदन बुढाथोकीले बताए । भवनका लागि करिब ५ करोडमा ठेक्का लागिसकेको छ । अर्थ मन्त्रालयले २ करोड बजेट निकासा गरिसकेको छ भने काम शुरु भएपछि १८ महिनाभित्र ६ करोड बजेट विनियोजन हुने भएको छ ।

हाल टहरामा व्यवसाय गरिरहेका व्यवसायीहरुकै लागि सो कम्प्लेक्स निर्माण हुने भएको हो । भुईतलामा अन्डरग्राउन्डसहितको पार्किङ, पहिलो तलामा व्यावसायिक सटर र माथिल्लो तलामा सामुदायिक भवन निर्माण गरिने संझौतामा उल्लेख छ । तीनतले सो भवनमा ६४ वटा सटर रहने जनाइएको छ । हाल बिर्ताबजारको टहरामा ६४ जना व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्