भद्रपुर , जेठ २३ । स्थानीय पत्रकारहरूसँग सहकार्य र समन्वय गरी सञ्चारमैत्री नगर बनाउने भद्रपुर नगरपालिकाका मेयर तथा उपमेयरले प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा पत्रकारको टोलीले सोमबार नगरपालिकामा गएर नवनिर्वाचित मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिँदै स्थानीय सञ्चार संस्था र पत्रकारसँगको सहकार्यसम्बन्धी प्रस्तावसहितको पत्र बुझाएको थियो ।

प्रेस क्लबले बुझाएको सहकार्यसम्बन्धी प्रस्तावलाई ग्रहण गर्दै मेयर पोखरेलले नगरको समग्र विकासका लागि स्थानीय पत्रकार र सञ्चार संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसभन्दा अघि जे जस्तो भए पनि अबका दिनहरूमा प्रेस क्लबसँग सहकार्य गरी अघि बढ्नेमा कुनै कञ्जुस्याई नहुने बताउँदै उनले भने, ‘क्लबले राखेको मागहरूको विषयमा अध्ययन गरी त्यसलाई कार्यान्वयनको दिशामा अघि बढाउने छु ।’

सञ्चारमैत्री नगर बनाउन यहाँका पत्रकार र सञ्चार संस्थाले पनि नगरपालिकाको हरेक गतिविधिमा सकारात्मक भूमिका खेल्ने विश्वास लिएको उनको भनाई छ । त्यस्तै नगरपालिकाकी उपमेयर राधा कार्कीले पत्रकार र सञ्चार संस्थाको सहकार्यबिना नगरको विकास नहुनेमा जोड दिइन् । सञ्चार क्षेत्रलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग र सहकार्य जहिले रहने उनको भनाई छ ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले नगरपालिकाको बैठकले गरेका निर्णयसहितका सूचनाहरूलाई उपलब्ध गराउने व्यवस्था मिलाउने बताए । कार्यालयबाट हुने दैनिक गतिविधि वेबसाइटमा राख्न सम्भव नहुने प्रस्टाउँदै उनले भने, ‘नगरवासीलाई दिनै पर्ने सूचनाहरू चाहिँ समयमै उपलब्ध गराउने छु ।’

नगरपालिकाबाट हुने गतिविधिको सकारात्मक वा नकारात्मक दुवै किसिमका समाचार पत्रकारले लेखेर खबरदारी गराउनेमा पत्रकार पछि नहटने प्रेस क्लबका अध्यक्ष छेत्रीले बताए । नगरपालिकाको खेदो खन्ने गरी समाचार निकालेको भनेर जनप्रतिनिधि र कर्मचारीलाई टीकाटिप्पणी वा प्रतिशोध साध्ने काम नगर्न आग्रह गर्दै उनले भने, ‘पत्रकारको काम समाचार लेखेर खबरदारी गराउने हो, त्यो नै पत्रकारको व्यावसायिक धर्म हो ।’ कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण दाहाल, दीपक अधिकारी, माधव विद्रोहीलगायतले समेत आ–आफ्नो सुझाव राखेका थिए ।
आपसी हित प्रवद्र्धनको सिलसिलालाई अझ व्यवस्थित बनाउँदै स्थानीय छापा तथा विद्युतीय सञ्चारमाध्यममा सूचना, विज्ञापन प्रकाशन÷प्रसारण गर्ने र एक–आपसमा समन्वयात्मक सहकार्य गर्ने नीतिका लागि नगरपालिकालाई ८ बुँदे प्रस्तावसहितको मागपत्र बुझाएको क्लबका सचिव पार्थ मण्डलले जानकारी दिए ।

नगरक्षेत्रमा सात वटा साप्ताहिक पत्रिका, ६ वटा अनलाइन पत्रिका र एउटा एफएम रहेको क्लबका महासचिव उत्तम नेपालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्