झापा , जेठ २६ । ताप्लेजुङमा प्रसिद्ध तीर्थस्थल पाथीभरामा पोर्टेबल शौचालय निर्माण गरिएको छ।

पाथीभरा दर्शनमा आउँने दर्शनार्थीका लागि मन्दिर परिसरमा पोर्टेबल शौचालय निर्माण गरिएको हो । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा धाममा पुग्ने दर्शनार्थीले शौचालयको समस्या खेप्दै आएको अवस्थालाई दृष्टिगत गरी पोर्टेबल शौचालय स्थापना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पोर्टेबल प्रविधिको शौचालय आवश्यकता अनुसार ठाउँ परिवर्तन गर्दै प्रयोग गर्न सकिने काफ्लेको भनाइ छ । मन्दिर परिसर नजिक तीनवटा र माथिल्लो फेदी बजारदेखि मन्दिरसम्म अढाई किलोमिटर दूरीभित्र पाँचवटा शौचालय जडान भएको समितिले जनाएको छ । फाइबरबाट निर्माण भएको पोर्टेबल प्रविधिको शौचालय एनएमबी बैङ्कले उपलब्ध गराएको पनि समितिका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । यता शौचालय जडान खर्च काठमाडौं बानेश्वरकी समाजसेवी रञ्जना पाठकले ब्यहोरेको बताएका छन् । एउटा शौचालयको लागत रकम करिव ७५ हजार रुपियाँ पर्दछ । शौचालयमा प्रयोग गर्ने पनि भने मन्दिर परिसरमा निर्माण भएका धर्मशालाहरूको छानाबाट सङ्कलन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्