दमक,जेठ २६ । नेकपा माओवादी केन्द्र दमकले विभिन्न मागहरु समेटेर नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

माओवादी दमकको नृेतत्व टोलीले बिहीबार नगरपालिका कार्यालयमा पुगेर नगर प्रमुख रामकुमार थापालाई स्थानीय जनसरोकारका विभिन्न १९ वटा वुँदागत माग राखेर ज्ञापनपत्र बुझाएको माओवादी केन्द्रका नगर इन्चार्ज वेदु गौतमले जानकारी दिए ।

ज्ञापनपत्रमा भूमिहीन सुकुम्बासी,भूमिहीन दलित,अव्यवस्थित बसोबासीलाई तथ्यांक प्रमाणित गरी भूमि आयोगको समन्वयमा तत्काल जग्गाधनी पूर्जा उपलव्ध गराउनु पर्ने, त्यस्ता गरिव परिवारलाई शिक्षा,स्वास्थ्य, विजुली ,खानेपानी निशुल्क उपलव्ध गराउनु पर्ने , दमक ४ मा निर्माणाधीन भ्यूटावरको संरचनालाई उपयोग गरी मेडिकल कलेजसहितको प्रादेशिक अस्पताल सञ्चालनका लागि पहल गर्न माग गरिएको छ ।

यसैगरी बर्षोदेखि विवादित रहेको पूर्वाधार शुल्कको नाममा लिइने पटके कर तुरुन्त खारेजी गर्न ,लामो समयदेखि बेवास्ता रहेको सामुदायिक विद्यालयको नेतृत्व यथाशिघ्र गर्न र कतिपय विद्यालयमा हुने वेथिती तथा भ्रष्टाचार नियन्त्रण एवं छानविन गर्न माग गरिएको छ । पार्टीका नगर कमिटी अध्यक्ष कुलबहादुर बस्नेत (रवि ) र इन्चार्ज वेदु गौतमको हस्ताक्षर रहेको ज्ञापनपत्रमा सेनेटरी प्याड खरिदमा भएको अनियमितताको छानविन गर्नु पर्ने, नगरभित्रका सम्पूर्ण मजदुरहरु पञ्जीकरण गरी परिचयपत्रको व्यवस्था गरिनु पर्ने तथा उनीहरुको निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, नगरका सडकहरुको स्तरोन्नति गर्न, ट्राफिक व्यवस्थापन गर्न ,खोलाको दीर्घकालीन हुने गरी व्यवस्थापन गर्नुपर्ने, कक्षा १२ सम्म निशुल्क व्यवस्था गर्नुपर्ने, कला ,संस्कृति तथा साहित्यको विकासजस्ता समाज कल्याणसम्बन्धी कार्यक्रमलाई नियमित गर्नुपर्ने ज्ञापनपत्रमा समेटिएको छ । सार्वजनिक स्थलमा खुला क्षेत्रको महत्वलाई मध्यनजर गरी दमकको विभिन्न ठाउँमा प्रदर्शनी स्थल तथा खुला पार्कको व्यवस्था गर्न तथा दमक ९ मा निर्माणाधीन सभागृहलाई फाल्गुनन्द सभागृह नामकरण गर्न मागपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्