झापा , जेठ २७ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानसँग १३ रनले पराजित भएको छ ।

ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटिएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३-३ विकेट लिए । यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।नेपालले ओमानलाई हालसम्म एक पटक मात्र हराएको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्