झापा , जेठ २७ । झापाको मेचीनगर नगरपालिका-७ स्थित अरनिको मा.वि.मा अध्यापन गराउने शिक्षिकामाथि प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

प्रधानाध्यापक अग्नि घिमिरेले एकल महिलासमेत रहेकी २७ वर्षीया शिक्षिकामाथि केही समयता यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ । पीडित शिक्षिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे सहकर्मीहरू र गाउँका अगुवा नागरिकलाई सुनाएपछि बिहीबार सर्वपक्षीय बैठक बसेको थियो । मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाल, प्रहरीका प्रतिनिधिसहितको उक्त बैठकमा प्र.अग्नि घिमिरे भने अनुपस्थित थिए । वडाध्यक्ष ओलीका अनुसार पीडित शिक्षिकाले ८ महिनायता सो विद्यालयमा पढाउँदै आएकी छन् । उनका श्रीमान् क्यान्सरका कारण एक वर्षअगाडि बितेका थिए । ‘एकल महिला भएकै कारण खराब नियत राखेर ममाथि यौन दुर्व्यवहार भयो भन्ने उहाँको कुरा छ,’ वडाध्यक्ष ओलीले भने, ‘आजको बैठकमा प्र.अग्नि घिमिरे नभएका कारण सहमति हुन सकेन ।’

ती शिक्षिकाका अनुसार लामो समयदेखि प्रधानाध्यापकले मोबाइलबाट पटक-पटक यौनजन्य म्यासेज गरेको र अनावश्यक कुरा लिएर कक्षा कोठामा नै पटक-पटक गएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरूको भ्रमण जाँदा समेत यौन हिंसाजन्य क्रियाकलाप गर्ने गरेको आरोप छ । त्यस्तो गतिविधि नगर्न आग्रह गर्दा जागिर खाइदिने र सार्वजनिक रूपमा बेइज्जत गर्ने भन्दै धम्की दिएपछि आफू डराएर घटनाबारे लामो समय खुल्न नसकेको जनाएकी छन् । घटना बाहिर ल्याएमा पनि जागिरबाट निकालिदिने डर देखाएको उनले बताइन् । घटना बाहिरिने डरले गर्दा प्र.अग्नि घिमिरेले बुधवार बिहान नै पदबाट राजीनामा दिएका छन् । बिहावीरको बैठकमा पनि प्र.अग्निले राजीनामा दिनुपर्ने र सर्वपक्षीय भेलामै माफी माग्नुपर्ने माग पीडितको थियो । तर उनी नआएका कारण सहमति हुन नसकेको वडाध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्