बिर्तामोड , जेठ २७ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहलाई बाख्रा वितरण गरेको छ ।

नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाटअन्तर्गत शुक्रवार आयोजित एक कार्यक्रमका बीच १५ जना कृषकहरुलाई ३ वटाका दरले ४५ वटा र समूहलाई एउटा बोयर जातको बीउ बोका वितरण गरिएको हो । कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गरे ।

यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजंघा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले ग्रामीण क्षेत्रका किसानहरुको जीवनस्तर उकास्नका लागि यो कार्यक्रम ल्याइएको बताइन् । यस कार्यक्रमबाट धेरै कृषकहरुले लाभ लिएको बताउँदै उनले कुनै पनि कारणले बाख्रा मरे त्यसको प्रमाणसहित पेस गर्दा नगरले अर्को बाख्रा उपलव्ध गराउने जानकारी दिइन् । यस्तै उपप्रमुख संग्रौलाले नगरको कृषि तथा पशुपंछी शाखासंग सम्बन्धित कार्यक्रमहरु महत्वपूर्ण र दीर्घकालिन रहेको बताए । उनले कृषकहरुलाई बाख्राका लागि पौष्टिक जातका घांसहरु लगाउन पनि आग्रह गरे ।

बिर्तामोड नगरपालिकाले २०७४ सालयता ५ सय वटा बाख्रा वितरण गरिसकेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । उनले हालसम्ममा ४१ लाख रुपैयाँको १६५ वटा बाख्राको खोर निर्माण गरेको बताइन् । किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहकी अध्यक्ष भावना ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी गोपाल लकान्द्री,प्राविधिक विष्णु भट्टराई,निमेश थापालगायतका कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्