झापा, जेठ २८ । नेपाल पुँजीबजार लगानीकर्ता संघ झापाले अत्यन्त कठिन मोडमा पुगेको नेपाली सेयर बजार जोगाउनु पर्ने माग गरेको छ ।

शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई पृष्ठ लामो ज्ञापनपत्र बुझाउँदै संघले त्यस्तो माग गरेको हो। संघले ५ बुँदे माग अघि सारेको छ। सरकार, राष्ट्र बैंक र सरोकारवाला निकायबीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको संघको निष्कर्ष छ । संघले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।

आफ्नो गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले सरकारले स्पष्ट नीति बनाएर समस्या सम्बोधन गर्नुपर्ने बताए । उनले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाए। ‘बोलीमा मात्रै होइन, हामी व्यवहारमै काम र कार्यान्वयन गर्न चाहन्छौँ’ महामन्त्री शर्माले भने, ‘सरकारले आफैँ चासो दिएर हल गर्नु पर्ने समस्या तपाईंहरुले उठाइरहनु भएको छ, पार्टी र सरकार यो समस्या सम्बोधन गर्ने विषयमा सकारात्मक छ ।’ सेयर बजारलाई कसैले अनुत्पादक क्षेत्र भनेर बोल्दिँदा समस्या भएको उनको टिप्पणी छ।

सरकारले सेयर बजारको लगानी व्यवस्थित गर्नु पर्ने ठाउँमा व्यवसायीले सरकारलाई घच्घच्याएकोमा महामन्त्री शर्माले प्रसन्नता समेत व्यक्त गरे। महामन्त्री शर्माले भने,‘अब राजनीतिक मान्छेलाई घच्घच्याउने अवस्थाको अन्त्य हुन्छ, त्यसका लागि सामुहिक पहल जरुरी छ ।’ सरकारले सेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गरेका महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर समस्या समाधानको मार्ग पहिल्याउने आश्वासन दिए।

राष्ट्र बैंकद्वारा शेयर कर्जामा लगाइएको ४÷१२ करोडको क्याप हटाइनु पर्ने, शेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गरिनु पर्ने, बैंक तथा वित्तीय संस्थालाई शेयर कारोवारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिइनु पर्ने, काठमाडौँमा आन्दोलनरत पुँजीबजार लगानीकर्ता संघ – संगठनका नेतृत्वसँग वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान गरिनु पर्ने लगायतका माग सहितको ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्याको हल गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।

उनले बुझेको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री देउवालाई पठाए। महामन्त्री शर्माले आफू काठमाडौँ गएपछि सभापति देउवालाई भेटेर अर्थमन्त्री, गभर्नर, सरोकारवाला र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा समस्या सुल्झाउन पहल गर्ने विश्वास दिलाए। लगानीकर्ता संघ झापाका अध्यक्ष कृष्ण कार्की, महासचिव रमेश लुइँटेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । त्यस अवसरमा उनीहरूले लगानीकर्तालाई सुकुम्बासी हुनबाट बचाउन, डिप्रेसनमा जान नदिन, आत्महत्या गर्नबाट जोगाउन, लगानी सुरक्षित गर्नु पर्ने लगायतका माग गरेका थिए। झापामा मात्रै ५ लाख जना लगानीकर्ता रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्