बिर्तामोड , जेठ २८ । बिर्तामोड नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले १७ बुँदे माग राखेका छन् ।

उनीहरुले नवनिर्वाचित नगर प्रमुख , उपप्रमुख , १० वटै वडाका वडाध्यक्षसहित नगरका सम्पूर्ण जनप्रतिनिधिहरुलाई भेला गराएर आफ्ना माग राखेका हुन् । महँगी बढेका कारण सामुदायिक महिला स्वयंसेविकाहरुले पाउँदै आएको भत्ता बृद्धि गरी प्रतिदिन १ हजार र खाजाको २ सय गरी १२ सय पुर्याउनु पर्ने , मासिक भत्ता नेपाल सरकारले तोकेको मजदुरको नियम अनुसार उपलब्ध गराउनु पर्ने , सेवाबाट निवृत हुँदा काम गरेको समयदेखि छोड्ने समयसम्म महिनाको हजारले गुणा गरी विदाई रकम उपलव्ध गराउनुपर्नेलगायतका माग रहेका छन् ।

बिर्तामोड ३ स्थित नगर अस्पतालमा आयोजित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमका अवसरमा सो मागपत्र बुझाएका हुन् । मागपत्र बुझाउँदै सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समिति बिर्तामोडकी अध्यक्ष निर्मला नेपालले आफूहरु प्रतिदिन ८३ रुपैयाँ ज्यालामा काम गर्न बाध्य भएको गुनासो गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले आफूहरुले पाएको जिम्मेवारी अझ ओजपूर्ण होस् भन्दै हाम्रो नगर राम्रो नगर बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गरिन् । त्यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आफ्नो जिम्मेवारीप्रति जवाफदेही नहुने नगरपालिकाका कर्मचारीलाई कामबाट विदा दिइने बताए । बिर्तामोड नगरपालिकामा २२६ जना कर्मचारी र ३० जना स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समिति बिर्तामोडकी अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले पनि बोलेका थिए । पवित्रा राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बबिता घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्