झापा , जेठ २९ । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम ०७९÷८० प्रदेशसभाबाट बहुमतबाट पारित भएको छ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरू हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लिलाबल्लभ अधिकारीले संशोधन प्रस्ताव राखेका थिए। उनीहरूले ती प्रस्ताव फिर्ता लिएनन्।
असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्यसहित २० जना प्रदेशसभा सदस्यले बोलेका थिए।

छलफलमा उठेको विषयको जवाफ दिँदै मुख्यमन्त्री राजेन्द्रकुमार राईले राजनीतिक विचार र आस्था फरक भए पनि प्रदेशको विकासमा एक भएर अगाडि बढ्न आग्रह गरे। ‘नीति तथा कार्यक्रम विगतकै हाम्रो सारेको रहेछ तर खतम ल्याएको रहेछ, भन्ने पनि आएको छ‚’ उनले एमालेका सांसदले उठाएका विषयलाई इंगित गर्दै भने, ‘हिजोचाहिँ हाम्रो खतम थियो भनेको कि के भनेको? हिजोको हाम्रो खतम थियो भनेर स्विकारेको हो?’

उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रमअनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए। पहिलेको सरकारको राम्रा योजनालाई निरन्तरता दिएको बताउँदै उनले भने, ‘नयाँ सरकारले सबै नीति कार्यक्रम नयाँ ल्याउन मिल्छ, हिजोको पुरानो योजनालाई निरन्तरता दिनुपर्छ होला त्यसैले कैयौँ कुरा त हिजोको कुराले निरन्तरता पाउँछ, दोहोरिन्छ। त्यसलाई ठूलो विषय बनाउन उचित हुन्छ भन्ने लाग्दैन।’

सरकारबाट भएका कमीकमजोरी औँल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही भएको बताउँदै उनले बजेट तथा नीति कार्यक्रम साझा विषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिए।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले सरकारले पूरा हुन नसक्ने योजनाहरू ल्याएको भन्दै आलोचना गरेका थिए।

प्रदेश १ को नामकरण गर्न एमाले र कांग्रेस सहमत

यसैबीच प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ । छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामकरणको टुंगो लगाउन सहमत भएका छन् । एमाले संसदीय दलको तर्फबाट कार्यदलका संयोजक हिक्मत कार्कीले काँग्रेस संसदीय दलका नेता राजीव कोइरालालगायतसँग छलफल गरेका हुन् ।

आइतबारको संसद बैठक सम्पन्न भएपछि प्रदेश १ संसद सचिवालयमै बसेको बैठकले नामकरणको टुंगो लगाउन दुवै पक्ष सहमत भएको कार्कीले जानकारी दिए ।
‘कांग्रेस र एमालेबीच यही अधिवेशनबाट प्रदेशको नामकरण टुंग्याउन सहमत भएका छौं,’ कार्कीले भने, ‘हामीबीचमा सबै संसदभित्रका राजनीतिक दलसँग र सरकारसँग पछि छलफल गर्न पनि सहमत भएका छौं ।’

यसअघि प्रदेश १ को नामकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले कार्यदल गठन गरेको थियो । कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् ।
प्रदेशसभाका सांसदहरुले प्रदेशको यही अधिवेशनबाट नामकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुंगो लागिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्