झापा , असार १ । जब बर्खा लाग्छ , तब बिर्तामोडमा पुरुवा गिटीको लागि हानथाप शुरु हुन्छ । ‘मलाई यति टिपर माल चाहियो ’भनेर जनप्रतिनिधि र कर्मचारीसंग सोर्सफोर्स लगाइन्छ । जसको पहुँच छ, उसैले धेरै गिटी पाउँछन् ।

यतिबेला गिटी बाँड्न बिर्तामोडका जनप्रतिनिधिहरुलाई भ्याइनभ्याई छ । गिटी छरेर विकास गर्ने काममा उनीहरु व्यस्त देखिन्छन् । गिटीको लागि आफूलाई बारम्बार फोन आइरहेको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । बिर्तामोड ३ का लागि नगरपालिकाले ४ लाख बजेट छुट्याएको छ ।
‘त्यस रकमबाट ७० देखि ७८ टिपरसम्म गिटी आउँछ’ उनले भने ,‘ तर माग भने १४० टिपरको छ ।’ त्यति गिटीले बर्खा कटाउने सोच रहेको उनले बताए । बिर्तामोड ३ मा ३३ वटा टोल छन् । ती टोललाई दुई टिपरको दरले गिटी पुर्याउनु पर्ने अबस्था रहेको वडाध्यक्ष बुढाथोकीले बताए ।
वडा नं ६ ले गिटीको लागि मात्र १ लाख बजेट पाएको छ ।अरु वडामा ६ लाख दिएर आफ्नो वडालाई १ लाख मात्र दिएर नगरपालिकाले अन्याय गरेको वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले गुनासो गरे । ‘ २ सय टिपरको माग भएको मेरो वडामा त्यतिले एक थोपो पनि पुग्दैन ’ उनले भने ,‘ गिटीले समस्या ल्याउने भयो ।’
बिर्तामोड नगरपालिकाले यो बर्खाका लागि करिब ३० लाख बजेट छुट्याएको छ । गिटी किन्न भनेर वडा नं १ लाई १ लाख ५० हजार , २ लाई ६ लाख , ३ लाई ४ लाख , ४ लाई २ लाख , ५ लाई ३ लाख ५० हजार , ६ लाई १ लाख , ७ लाई २ लाख , ८ लाई २ लाख , ९ लाई ४ लाख र १० लाई पनि ४ लाख बजेट छुट्याइएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाले हरेक वर्ष बर्खामा गिटी छर्न लाखौं बजेट छुट्याउने गर्छ । तर,ती गिटी बर्खामै बगेर सकिन्छ । बर्खामा पानीले भत्किने बाटोको मर्मतका लागि अस्थायी व्यवस्थापन गर्न गिटी हाल्नु परेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले ढल व्यवस्थापन नहुँदा र सडकभन्दा उचाईमा दुवैपट्टि घर निर्माण गरेपछि पानी जमेर नगरका धेरै बाटो बिग्रिने गर्दा गिटी छर्नुपर्ने बाध्यता रहेको सुनाए । ‘सडकहरु राम्रो भएको भए गिटी छर्नु पर्दैनथ्यो’उनले भने ,‘ आवतजावतमा समस्या भएपछि बर्खाकै लागि भनेर गिटी हाल्नु पर्छ ।’
बिर्तामोडमा विगतमा आफूखुशी गिटी छर्ने गरिएको थियो । कहाँ बढी आबश्यक हो त्यहाँ नदिएर जनप्रतिनिधिले आफ्ना घर अगाडि गिटी हाल्ने गरेको बिर्तामोड ९ का पुण्य सुवेदीले गुनासो गरे । गत वर्ष शहीद चन्द्र मार्ग भत्किएर हिड्नै नसक्ने भएपछि आफूहरुले गिटीको लागि पटकपटक धाउँदा पनि नपाएको उनले बताए । त्यस्तै बिर्तामोड ९ का यज्ञराज श्रेष्ठले कनिका छरेजस्तै आँखामा छारो हाल्न आफ्नो घर अगाडि गिटी छरेको बताए ।
विगतमा मनपरी भएपछि यस वर्ष गिटी बाँड्ने कामलाई व्यवस्थित गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । आफूहरुले सर्वदलीय समिति बनाएर गिटी हाल्न लगाएको र त्यसको अनुगमन पनि गरिरहेको बिर्तामोड ३ का वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।