बिर्तामोड , असार १ । बिर्तामोडका तरकारी उत्पादक कृषकहरुले नगरपालिकासमक्ष ८ बुँदे माग राखेका छन् ।

व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दै आएका कृषकहरुले आफ्ना यावत समस्याका बारे नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
कृषि थोक बजारमा आफ्ना उत्पादन बिक्री गर्न पाउनुपर्ने , उत्पादित तरकारीको न्यूनतम बजार मूल्य पाउनुपर्ने , प्रत्येक वडाले कृषिसंग सम्बन्धित बजेट छुट्याउनु पर्ने , रासायनिक मलको अतिरिक्त व्यवस्था गर्नुपर्ने , सिंचाई विद्युत निःशुल्क हुनुपर्ने ,प्रांंगारिक मलको उत्पादनमा जोड दिनुपर्ने , कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्नेलगायतका माग राखिएको बिर्तामोड ९ का तरकारी कृषक यज्ञराज श्रेष्ठले जानकारी दिए । उनले पाँच वर्षमा आफूहरुको कुनै पनि माग नगरपालिकाले पुरा नगरेको जानकारी दिए ।
संयुक्त नगरको तर्फबाट अध्यक्ष माधव सिटौला , सचिव प्रदीप खनाल , पाँच वटा वडाका तरकारी कृषक समूहका अध्यक्षलगायतले आफ्ना मागका बारेमा नगर प्रमुख पवित्रा महतारा प्रसाईको ध्यानाकर्षण गराएका थिए । त्यसप्रति आफू गंभीर भएको नगर प्रमुख प्रसाईले बताएकी थिइन् ।