दमक, असार ४ । दमक नगर स्काउट तदर्थ समितिको संयोजनमा शनिबार नगर प्रमुख, उपप्रमुखसहित विधार्थीहरुलाई दिक्षित गरिएको छ ।

नगर स्काउट संरक्षक नगर प्रमुख र नगर स्काउट प्रमुख उपप्रमुख पदेन रहने व्यवस्था भएकाले दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईंसहित नगरभित्रका स्काउट सञ्चालन रहेका विद्यालयका ५ सयभन्दा धेरै विधार्थीहरुलाई एकैसाथ सपथ खुवाएर दिक्षित गरिएको हो ।
दमक नगर स्काउट संरक्षक नगर प्रमुख थापा र नगर स्काउट प्रमुख उपप्रमुख भट्टराईलाई प्रदेश नम्बर १ का स्काउट तदर्थ समिति संयोजक रवि खनालले सपथ ग्रहण गराएका थिए । त्यसपछि दमक नगर स्काउट सदस्य सचिव नगरका शिक्षा अधिकृत दिनेश न्यौपानेलाई नगर स्काउट प्रमुख भट्टराईले सपथ ग्रहण गराएकी थिइन् भने विधार्थीहरुलाई स्काउटकी राष्ट्रिय प्रशिक्षक सकुन्तला सुब्बाले सपथ खुवाएकी थिइन् ।
अनुशासित, स्वावलम्बी, नैतिकवान बालबालिका निर्माणका निमित्त १ विद्यालय १ स्काउट दलको नीति कार्यान्वयनका लागि दमक नगरका सबै विद्यालयहरुमा स्काउट कार्यक्रम सञ्चालनको पहल भैरहेको स्काउट दमक नगर तदर्थ समिति संयोजक ओम आचार्यले जानकारी दिए ।