झापा , असार ५ । प्रतिनिधिसभाको अन्तर्गतको अन्तराष्ट्रिय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नआउने भएका छन् ।

समितिले आइतबार १० बजे प्रधानमन्त्रीलाई छलफलमा बोलाएको थियो । प्रधानमन्त्री देउवासँग नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्ने कार्यक्रम थियो । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार आज बिहान ८ बजेमात्र प्रधानमन्त्री नआउने जानकारी आएको हो । उनले प्रधानमन्त्री नआउने भए समयमै समयमा खबर हुनुपर्ने बताइन् । ’समयमा खबर नगर्नु अपमान नै हो । हिजोसम्म खबर दिनुपर्ने हो । आज ८ बजे खबर दिनु त अपमान नै हो । बिहान ८ बजे सचिवलाई फोन गर्नुभएको हो, ’ उनले भनिन्, ’त्यसपछि मलाई जानकारी भएको हो । यसैले समितिको अपमान भएको हो ।’ प्रधानमन्त्री नआउने भएपछि समिति सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका सांसदहरु बाहिरिएका छन् । प्रधानमन्त्री देउवाको अनुपस्थितिबारेको प्रश्नमा जवाफ दिँदै कांग्रेसकी सांसद पुष्पा भुसालले अमेरिका भ्रमणबारे औपचारिक निणर्य नभइसकेको बताइन् । उनले भनिन्, ’अहिलेसम्म अमेरिका भ्रमणबारे पत्राचार भएको छैन । फर्मल रुपमा निणर्य नभइसकेको अवस्थामा समितिमा बोलाउनुको अर्थ रहँदैन । यस कुरामा समितिलाई जानकारी गराउँछु भन्नु भएको छ । उहाँले भ्रमण तय भएपछि आउँछु भन्नुभएको छ । समितिको अपमान भयो भन्नुभन्दा पनि भ्रमण तय भएपछि उहाँ आउनुहुन्छ ।’ त्यस्तै कांग्रेसका अर्का सांसद् दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री नआउँदा समितिको अपमान भयो भन्न नमाल्ने बताए । समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित नभएको र आफूहरु प्राररम्भिक छलफलमै रहेको बताएका थिए । भ्रमणको तालिका निश्चित भएपछि मात्रै भ्रमणमाबारेको छलफलमा बोलाउन समितिमा आग्रह गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्