झापा ,असार ५ । झापा कारागारमा भइरहेको घटनाका बारेमा पत्रमार्फत बाहिर सार्वजनिक गर्ने महिला कैदी हुन् साजन खत्री । उनैले कारागारभित्रको ‘बर्बरता’का बारेमा लेखिएको पत्र प्रतिदिनलाई दिएकी थिइन् ।

सो पत्र कारागारमै रहेकी अर्की महिला कैदीले लेखेकी हुन् ।अपहरण मुद्धामा ६ वर्ष कैद भुक्तान गरी इलामकी साजन गत जेठ ३० गते रिहा भएकी हुन् । सोही दिन उनले आफ्नो साथमा सो पत्र लिएर आएकी थिइन् ।‘एकजना आन्टीले लेख्नुभएको पत्र मैले ल्याएको हुँ ’उनले भनिन् ‘पत्रमा लेखिएको कुरा सबै सही र यथार्थ छन् ।’

सो पत्र र पत्रमा लेखिएको कुराहरुको बारेमा छानबिन समितिले छानबिन शुरु गरेको छ । पत्रमार्फत कारागारभित्रको बेथिति बाहिरिएपछि सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने संयोजक रहेको समितिले आइतबारदेखि छानबिन शुरु गरेको हो । समितिको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डिएसपी दुर्गा चापागाई रहेका छन् ।

‘हामीले पत्र र पत्रमा उल्लेखित कुराहरुको बारेमा अनुसन्धान शुरु गरेका छांै ’डिएसपी पाठकले भने‘ निकै अगाडिदेखि सो पत्र लेखेको हुनुपर्छ । ’ त्यस पत्रमा एक वर्ष अगाडिका घटनाहरु उल्लेख गरिएको छ । पत्रमा चौकीदार रिता राईले कारागारभित्रै अवैध कारोबार संचालन गरिरहेको उल्लेख छ । महिला कारागारभित्र चौकीदार राईले रक्सी , खैनी , सूर्ती , चुरोट ,हुक्का बिक्री गर्ने गरेको र पैसा लिएर तास खेलाउने गरेकोसमेत उल्लेख छ । चौकीदार रिता राईसंगै कमला मास्के, सुनिता हस्दा र सिता कट्वालले कारागारभित्र अमानवीय व्यवहार गरिरहेको भन्दै त्यसबाट आफूसहित सबै कैदीहरुलाई छुटकारा दिलाउन ती महिला कैदीले आग्रह गरेकी छिन् ।

चौकीदार राईलगायतले दिएको यातना आफूले पनि निकै सहेको साजनले बताइन् । ‘कुट्ने ,यातना दिने नियमित घटना हुन् ’उनले भनिन् ‘मैले पनि कैयौ पटक कुटाइ र यातना सहेकी छु ।’ कमला मास्केले ओछ्यानमुनि राख्ने गरेको कालो पाइपले महिला कैदीहरुलाई कुट्ने गरेको उनले बताइन् । कारागारभित्रै रक्सी १५०० रुपैयाँ क्वाटरको दरले बेच्ने गरेको उनले सुनाइन् । ‘घरपरिवारबाट पठाइदिएको सामान चौकीदारले क्यान्टिनमा राखिदिने र आफ्नै सामान उनीहरुबाट किनेर लिनुपर्ने बेथिति रहेको उनले जानकारी दिइन् ।

चौकीदारले गर्ने गरेको अत्याचारको विरुद्ध २०७७ सालमा कैदीबन्दीहरुले आन्दोलन गरेको बताउँदै साजनले त्यसबेला आफूहरुको माग कारागार प्रशासनले सुनुवाई नगरेको दुखेसो पोखिन् ।साह्रै तनाव र साह्रै यातना भोग्न बाध्य कैदीहरु बाहिरका मानिससंग आफ्ना समस्या राख्न डराउने गर्छन् । कारागारभित्रको कुरा बाहिरकालाई सुनायोे भने कुटाई खाने र सरुवा फालिदिने डरले आफूरुले कसैलाई केही नभनेको उनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्