कुमरखोद असार ५ । झापा गाउँपालिका वडा नं २ मा खेतमा काम गर्दागर्दै एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुने झापा गाउँपालिका वडा नं २ बालुवाटार बस्ने अन्दाजी ५५ वर्षिय वीरवहादुर तामाङ रहेका छन् । विपन्न परिवारका तामाङ आफ्नो रोजीरोटीका लागि वडा नं २ का ज्ञानु सुवेदीको खेतमा ज्यालामा काम गर्न गएका थिए । दिउँसो ४ बजेतिर एक स्थानीय व्यक्तिले तामाङलाई मृत अवस्थामा देखेपछि खेतधनी सुवेदीलाई जानकारी गराएका थिए ।
सुवेदीले खवर पाउनासाथ नजिकै रहेको ईलाका प्रहरी कार्यालयलाई घट्नाको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय कुमरखोदका सई रत्नबहादुर श्रेष्ठको टोली घट्नास्थल पुगेको थियो । घट्नास्थलमा पुग्दा तामाङको शव उतानो अवस्थामा मृत फेला परेको सई श्रेष्ठले जानकारी दिए । मृतक तामाङका दुई छोरा र एक छोरी छन् । श्रीमतीको पहिले नै मृत्यु भईसकेको स्थानीयवासीले बताएका छन् ।