झापा , असार ६ । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार बिस्थापित भएका छन् ।

गएराति ९.५५ बजेको समयमा अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडी खोला किनार नजिक रहेको वस्तीमा कटान गरेको हो ।

कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती , गोमा तामाङ, सूर्यमान आचार्य ,बिमल किस्कू , राजेश किस्कू , मनोज मास्के , भारती तामाङ , लाक्पा शेर्पा , डिकबहादुर गुरुङ र दिपक गुरुङको परिवार बिस्थापित भएका हुन् । उनीहरुको घरमा
क्षति पुगेको र नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

सोही खोलाले आज बिहान गौरादह ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति नभएको डिएसपी पाठकले बताए । उनले पानी घट्ने क्रममा रहेकोले मानिसहरु आफ्नै घरमा रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्