झापा, असार ६ । अब नेपालका पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ‘५-११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार र जोन्सन एन्ड जोन्सनका १५ लाख मात्रामा थपिने’ जनाएको छ । स्वास्थ्य सेवा विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउन तयारी थालेको छ । जसअनुसार उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय, वाग्मती प्रदेशका चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका लागि ५ लाख ४२ हजार ४ सय डोज खोप पठाइएको छ । त्यस्तै, गण्डकीका कास्की र नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बिनीका नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ हजार ४ सय, कणर्ालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ ।

प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागको कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘हामीले असार ९ देखि वितरण गर्ने तयारीअनुसार काम थालेका छौं,’ उनले भने, ‘पहिलो डोज लगाउनेले दोस्रो मात्रा ३ साताभित्र लगाउनुपर्छ । यसका लागि अर्को खोप १० देखि १४ दिनभित्र यति नै मात्रामा ल्याउने योजना छ ।’ दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाउने तयारी सरकारको छ । बुस्टर डोज लगाउनेबारे भने विभागले केही भनेको छैन । मुलुकमा ५-११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । खोपमा मिलाउने सोडियम क्लोराइड खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजर खोप ल्याउने सरकारको योजना छ । विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड खोपमा मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टै छ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने भएकाले अन्य उमेर समूहलाई लगाउने जस्तो सहज नभएकाले तालिमको आवश्यकता छ । तैपनि विभागले सबै जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छैन । अझै २७ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिन बाँकी छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा खोप अभियान सञ्चालन गरिने सबै जिल्लामा तालिम सम्पन्न गरिसकेको बताए । ‘अर्को खोप लगाउने बेलासम्म सबै जिल्लामा तालिम सम्पन्न गरिसक्छौं,’ उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।’ बालबालिकाको खोप उत्पादन भएको मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज) मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा कोचेर राखेमा ३० लाख मात्रा राख्न सक्ने क्षमता छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्न मिल्ने कोल्ड रुम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ । कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख थापाले सबै तयारी पूरा भइसकेकाले खोप खेर नजाने दाबी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्