झापा , असार ७ । बुधवारे हटियाका व्यापारीहरुलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग लिएर बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा आज पनि व्यवसायीहरु जाने भएपछि बिर्तामोड नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हिजो बिर्तामोड नगरपालिकामा तनाव भएको थियो । उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले बोल्न थालेपछि वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आफ्नो ठाउँबाट उठेर अवरोध गर्न खोजेका थिए । त्यतिकैमा बैठकमा सहभागी एमाले अध्यक्ष सुवास भट्टराईले नगर प्रमुखको पक्ष लिँदा विवाद भएको थियो । विवादका क्रममा भट्टराईमाथि हातपात भएको आरोप एमालेको छ । सर्वदलीय बैठकमा आफूहरुमाथि दुव्र्यवहार भएको नगर प्रमुख प्रसाई र एमाले अध्यक्ष भट्टराईले बताएका छन् । तर , इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले न्यौपानेले नगर प्रमुखलाई धम्कीपूणर् भाषा प्रयोग गरेपनि हातपात नगरेको बताए । आफूहरुले माहौललाई शान्त पार्ने प्रयास गरेको उनले जानकारी दिए । आक्रोशित वाणिज्य संघका अगुवा र व्यापारीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जपछि उनीहरुले नगरपालिकाको गेटअगाडि धर्ना दिएका थिए ।

आइतबारदेखि प्रदर्शन र धर्ना गर्दै आएका व्यापारीहरुले आज पनि नगरपालिकामा विरोध कार्यक्रम राखेपछि संभावित तनावलाई लिएर जनपद र सशस्त्र प्रहरी बिहानैदेखि तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरको नेतृत्वमा इलाका र जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु तैनाथ रहेका छन् । त्यस्तै प्रदेश सांसद एकराज कार्कीलगायतका एमालेका नेताहरु पनि नगरपालिकामा उपस्थित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्