झापा , असार ७ । मोरङको मिक्लाजुङका ४४ वर्षीय छविराज चाम्लिङ राईले बलात्कार गरेर एकजना बालिकालाई गर्भवती बनाएको घटना बाहिरिएको छ ।

स्थानीय १४ वर्षीया बालिकालाई राईले ४ महिनाअघि बलात्कार गरेको खुलेको हो। बलात्कारपछि बालिका गर्भवती भएको घटना बाहिरिएसँगै राई फरार बनेका छन्। प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ। बंगुरलाई चारो खोज्न जंगलमा गएका बेलामा राईले २०७८ साल माघ २६ गते बालिकालाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘डर र त्रास देखाएर मार्नेसम्मको धम्की दिँदै बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘धम्कीकै कारण लामो समयसम्म घटनालाई बाहिर ल्याउन बालिका डराइछन्।’ श्रेष्ठका अनुसार बलात्कारबाट पीडित बालिकाको पेट बढ्दै गएको र दैनिक व्यवहारसमेत परिवर्तन हुन थालेपछि अभिभावकले सोधपुछ गरेका थिए । तर पनि उनले घटनाका बारेमा बताइनन्। ‘लामो समयसम्म घटनाका बारेमा कसैलाई पनि नसुनाएको पाइयो । बालिका पढ्नलाई विद्यालय नियमित जाने गर्दिरहिछन्,’ उनले भने, ‘डरका कारण घटना गुपचुप राखेको पाइयो । सहनै नसक्ने गरी पेट दुखेपछि फकाएर सोधपुछ गर्दा अभिभावकलाई भनिछन्।’ अचानक पेट दुख्यो भनेर बालिकाले गत जेठ २६ गते राति अभिभावकलाई सुनाएपछि घटना बाहिरिएको हो। स्वास्थ्य परीक्षण गराउँदा पेटमा ४ महिनाको गर्भ रहेको पत्ता लागेको डीएसपी श्रेष्ठको भनाइ छ । त्यसलगत्तै बालिकाका बुवाले प्रहरीमा किटानी जाहेरी दिएका थिए। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बालिकाको पेटमा रहेको गर्भ राईको हो कि हैन भनेर यकिन गर्न डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको श्रेष्ठले बताए । बलात्कारमा संलग्न भनिएका राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्