झापा , असार १० । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमले फाईबर सेवा विस्तार गरेको छ ।

नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्तालेहुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो । सोलुलाई दुत मार्गको फाइबर लिङ्कबाट सेवा प्रदान गर्न काम सुरु गरेको झण्डै डेढ बर्षपछि लिङ्क पुर्याउन सफल भएको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । उनका अनुसार सडकको किनार हुँदै जमिनमुनीबाट विच्छ््याउनुपर्ने फाईबर सोलुदूधकुण्ड नगरपालिका ११ स्थित साल्मे क्षेत्रको पहिरोका कारण करिब नौ महिना रोकिएको थियोे । साल्मेमा पहिरो गईरहने भएकाले सो स्थानको करिब २ किलोमिटर क्षेत्रमा फलामे पोलको व्यवस्था गरी नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीसम्म फाईबर पुर्याइएको प्रमुख पन्थीले बताए । फाइबर पुगेसँगै टेलिफोन तथा मोबाईलमा आवाज नबुजिने, काटिने, पटक पटक नेटवर्क गईरहने जस्ता समस्याबाट जिल्लावासी मुक्त भएको नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीले जनाएको छ । नेपाल टेलिकमले हाल ४८ कोर रहेको भूमिगत फाइबरबाट सल्लेरी बजार लाई जोडेको छ । उक्त फाइबरबाट १० जिबिपिएस क्षमतामा लिङ्क सञ्चालन गरिएको छ । यस भन्दा पहिले पत्ताले स्टेसनबाट जम्मा ६८० एमबिपिएस क्षमताको मात्र रेडियो लिङ्कबाट सल्लेरीको सम्पूणर् सेवाहरु सञ्चालन गरिएको थियो । निकट भविष्यमा सो फाइबरलाई पर्यटकीय क्षेत्र लुक्लासम्म विस्तार गर्ने नेपाल टेलिकमले योजना जनाएको छ । टेलिभिजन, टेलिफोन र इन्टरनेट सेवा एकै पटक प्रवाह गर्न सकिने फाईबर अब सेवाग्राहीको घरघरमा पु्र्याईने पन्थीको भनाइ छ । पहिलो चरणमा आगामी साउनको अन्तिम साताबाट सल्लेरी बजार क्षेत्रको घर घरमा फाईबर विस्तारको काम थलिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्