बिर्तामोड , असार १० । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।त्यसमा सामाजिक सुरक्षाको रकम समेत समावेश छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रवार नगरपालिकाको हलमा आयोजित दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आयतर्फ संघीय समानीकरण अनुदानबाट २३ करोड ६० लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड ४३ लाख ९८ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३३ लाख ७२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ११ हजार ४ सय ९०,यसैगरी यस नगरको आन्तरिक आयबाट रु १५ करोड र मालपोत रजिष्ट्रेशन शुल्कबाट ११ करोड गरी जम्मा ६५ करोड ५४ लाख ८१ हजार ४ सय नब्बे प्राप्त हुनेछ भने संघीय सशर्त अनुदान चालुतर्फ २६ करोड ७१ लाख तथा पुँजीगततर्फ १७ करोड १८ लाख, बिशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ३० लाख तथा प्रदेश सशर्त अनुदान ६१ लाख २३ हजार,समपूरक अनुदान १ करोड बजेट प्राप्त हुने र सोही बमोजिम विनियोजन हुने विवरण सभामा प्रस्ताव गरिएको हो ।
चालु खर्चतर्फ प्रशासनिक खर्च,कृषि,पशुविकास,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दिईने अनुदान,क्षमता विकास, सीप विकास तालिमहरु तथा लक्षित वर्ग, पुँजीगततर्फ बहुबर्षे तथा क्रमागत योजनाहरुको निरन्तरता, शिक्षा,कृषि,पशुविकास,तथा स्वास्थ्यका पूर्वाधारजन्य योजना तथा कार्यक्रम, सडक सुधार तथा हेभी इक्युपमेन्ट सञ्चालन,मर्मत सम्भार कोष,विपन्न आवास निर्माण कार्यक्रम, वडास्तरीय योजना तथा कार्यक्रमहरु, स्वास्थ्य केन्द्र तथा वडा कार्यालयहरुको भवन घेराबारा तथा मर्मत,फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन जस्ता योजना तथा कार्यक्रमहरुमा विनियोजन हुने गरि बजेट प्रस्ताव गरिएको उपप्रमुख संग्रौलाले बताए ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को कुल वार्षिक बजेट १ अर्ब ४० करोड ४७ लाख ४२ हजार बजेट प्रस्ताव गरिएको थियो । जस अनुसार आर्थिक वर्ष ०७८÷०७९ को बैशाख मसान्तसम्मको आयतर्फ ७९ करोड ३४ लाख ३५ हजार तथा व्ययमध्ये चालुतर्फ ३३ करोड ४० लाख ८५ हजार र पुँजीगततर्फ ३२ करोड ९८ लाख ३९ हजार गरी जम्मा ६६ करोड ३९ लाख २५ हजार खर्च भएको आय–व्यय विवरण समेत प्रस्तुत गरिएको छ ।
नगरसभामा विधेयक समिति संयोजक तथा कार्यपालिका सदस्य शर्मिला राजवंशीले सहकारी विधेयक,नगर शिक्षा विधेयक र कर तथा गैरकर राजश्व सम्बन्धी विधेयक पेश गरेकी छन् । उक्त विधेयकमाथि असार २२ गते बस्ने सभामा छलफल गर्ने नगरप्रमुख प्रसाईले जानकारी दिइन् ।
अधिवेशनमा नगरप्रुमख प्रसाईले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । नगरले यस वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,पर्यटन,वन वातावरण तथा विपद् व्यवस्थापन,कृषि पशुपालन,पशुपंछी,उद्योग,व्यापार,व्यवसाय,श्रम तथा रोजगार,सहकारी,यातायात तथा पूर्वाधार निर्माण,युवा तथा
खेलकुद,कला,साहित्य,भाषा,धर्म,संगीत,संस्कृति,सभ्यता,सामाजिक सुरक्षा,लक्षित समूह,विज्ञान प्रविधि,सूचना सञ्चार,सुशासन,राजश्व तथा वित्तीय श्रोत परिचालनलगायत विविध शिर्षकमा कार्यक्रमहरु समावेश गरेको छ । अधिवेशनमा प्रदेश सांसद एकराज कार्की र जसमाया गजमेरको आतिथ्यता रहेको थियो ।