झापा , असार १० । झापाको कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

दोस्रो गाउँसभाको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा कृषि तथा पशुपंछीतर्फ एक करोड ५० लाख रुपैयाँ, शिक्षामा एक करोड, स्वास्थ्यमा १३ करोड ५० लाख, खानेपानीमा ५० लाख, वन, वातावरण, संस्कृति तथा पर्यटनमा ५० लाख, खेलकुदमा २० लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा ५० लाख र भौतिक पूर्वाधार, सडक निर्माण ,भवन निर्माण एवं स्तरोन्नतिमा ५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापनमा पाँच लाख, नदी नियन्त्रण तथा तटबन्धमा ५० लाख, गाउँपालिका साझेदारीमा एक करोड, सुशासन तथा संस्थागत क्षमता विकासमा १५ लाख, विपद व्यवस्थापनमा ३० लाख, मर्मत सम्भारका एक करोड, सूचना प्रविधि तथा सञ्चारमा २० लाख, न्यायिक समितिमा १५ लाख र विद्युत विस्तार तथा वैकल्पिक ऊर्जाका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाको प्रदेश नं १ का भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन गरेका थिए ।