देविका अधिकारी,
हल्दिबारी , असार ११ । हल्दिवारी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित बाह्रौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले अख्तियारी दिएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालु खर्च तर्फ ७ करोड १४ लाख ५० हजार, गाउँपालिका पुँजीगत खर्च २० लाख,सशर्त अनुदान संघीय सरकार १७ करोड ५३ लाख , सशर्त अनुदान प्रदेश सरकार १२ लाख ३ हजार ,समपुरक अनुदान संघीय सरकार १ करोड , समपुरक अनुदान प्रदेश सरकार १ करोड र वडास्तरीय कार्यक्रममार्फत १ करोड ९५ लाख रहेको छ भने अन्य विषयगत क्षेत्रअन्तर्गत आर्थिक विकास १ करोड २ लाख , सामाजिक विकास ४ करोड ९२ लाख ८१ ह्जार ६७० ,पूर्वाधार विकास १० करोड २३ लाख ५० हजार , वन वातावरण तथा विपद् व्यवस्थापन १५ लाख , सुशासन तथा संस्थागत विकास ३१ लख ४० हजार , विविध कोषहरू ९५ लाख, समपुरक कोष ३० लाख, मर्मत कोष ४० लाख,साझेदारी कोष १० लाख र जनता उपचार कोष १५ लाख बजेट विनियोजन गरिएको छ ।

हल्दिवारीको वाचा , झापाभरि माछा,किसानको खुसी पशुपालन र कृषि,फेरि पनि घुम्न जाऊँ हल्दिवारी गाउँ,एक सहकारी एक उत्पादन,हाम्रो लगानी घरघरमा स्वच्छ खानेपानी,एक घर एक माहुरीको घार,सबैलाई सीप सबैलाई रोजगार,हल्दिवारीका महिला विकासमा पहिला,समृद्धिका पालक हल्दिवारीका बालक,हामी सबैको इच्छा अनिवार्य निशुल्क शिक्षा,बेसहाराको सहारा हल्दिवारी गाउँपालिका,दिगो विकासको आधार व्यवस्थित र जनमैत्री पूर्वाधार भन्ने १२ वटा नाराका साथ गाउँपालिकाले प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपालनतर्फ मुख्य रूपमा कृषकहरुलाई मल बीउ समयमै सहुलियतमा उपलब्ध गराउन सहकारीहरुसंग प्रवन्ध मिलाउने, सुत्केरी गाईभैंसीलाई प्रोत्साहनस्वरुप रू १ हजार उपलब्ध गराउने, अर्गानिक खेती प्रवद्र्धनका लागि आएपिएम तालिमको व्यवस्था गर्ने, एक वडा एक पकेट कार्यक्रम संचालनमा ल्याउने, कृषिमा यान्त्रिकीकरणका लागि अनुदान उपलब्ध गराउने,५० प्रतिशत साझेदारीमा सिंचाई मोटर वितरण कार्यलाई निरन्तरता दिने , सहकारी संस्थाहरूसंग सहकार्य गरी मध्यम स्तरको कोल्डस्टोर संचालन गर्ने, चिया किसानहरूले उत्पादन गरेको चियापत्तीको मूल्य समसामयिक बनाउन सरोकारवा निकायहरूसँग सहकार्य र समन्वय गर्ने, यस्तै शिक्षा स्वास्थ्य तथा खेलकुदतर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षालाई निरन्तरता दिने,निम्न आय भएका जेहेन्दार विद्यार्थीमध्ये वार्षिक रूपमा एक जनालाई डाक्टर र एक जनालाई सिभिल इन्जिनियर गरी दुई जनालाई कार्यविधि अनुसार छात्रवृत्ति प्रदान गर्ने, हल्दिवारी, जनजागृति र लक्ष्मी मा.वि लाई शैक्षिक गतिबिधि गर्न अनुदान उपलब्ध गराउने, दुईवटा विद्यालयहरु छनौट गरि डिजिटल माध्यमबाट पठनपाठन सुरु गर्ने,गाउँपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिइरहेका सुत्केरीहरूलाई पोषण भत्ता उपलब्ध गराउने, सवै वडाहरूमा रहेका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी,फरक क्षमता भएका नागरिकहरुलाई महिनाको एकपटक घरभेटीमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने, गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारको पहिचान गरी निशुल्क स्वास्थ्य बिमा गरिदिने, वडास्तरीय फुटबल÷ भलिवल तथा अन्य खेलका टिमहरू तयार गर्ने, खुल्ला व्यायामशालाहरू स्थापना गर्ने, त्यस्तै रोजगारतर्फ प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसंगै “सबैलाई सीप, सबैलाई रोजगार“ कार्यक्रमको सुरूवात,उद्यमशीलता एवं आयवृद्धिमार्फत गरिबी न्यूनीकरणको नीति अवलम्वन गर्ने, गाउँपालिकाभित्र एक तालिम केन्द्रको व्यवस्थापन गर्दै स्वरोजगार केन्द्र स्थापना गर्ने ,पूर्वाधारतर्फ जलथल जंगल र आवादी बीचमा रहेको पर्यटकीय मार्गलाई पूर्णता दिदै ग्राभेल गर्ने र निकट भविष्यमा कालोपत्रे गरी पर्यटकीय मार्गको रूपमा विकास गर्नेलगायतका विभिन्न कार्यक्रम प्रस्तुत गरिएको छ ।

झापा क्षेत्र नं ३ ‘ख’ का प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँसभा आगामी १७ गते नीति तथा कार्यक्रममाथि छलफल गरेर पूर्ण बजेट पारित गर्नेगरी अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले स्थगित गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्