अर्जुनधारा , असार ११ । रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बार्षिक कार्यक्रमअन्तर्गत जेहेन्दार विद्यार्थी, उत्कृष्ट कर्मचारी र शिक्षकलाई नगदसहित सम्मान गरेको छ ।

गणेश आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक रामकुमार अछामीको कामको सिलसिलामा काठमाडौ पुगेर फर्किने क्रममा जिप दुर्घटनामा परी निधन भएको थियो । उनको स्मृतिमा तीन लाख बाउन्न हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

अक्षयकोषबाट २०७८को परीक्षामा भानु मावि अर्जुनधारा ५ का कक्षा १२ का बर्ष उत्कृष्ट विद्यार्थी ओमकुमार विश्वकर्मा, गणेश आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थी कक्षा ८ का आयुस एक्तेन र स्मारिका नेपाललाई जनही तीन हजार नगदसहित ताम्रपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी बर्ष उत्कृष्ट कर्मचारीबाट अर्जुनधारा माविका लेखापाल दिपक निरौला, जनता माविका शिक्षक नारायण तुम्बाहाम्फे र कालिस्थान माविका रेखा तिम्सिना र सहयोगी दाताहरु पूर्व प्रधानाध्यापक नगेन्द्र खनाल,चन्द्रमोहन उप्रेती, डाँगी प्रिन्टिङ प्रेसका संचालक युवराज डाँगी, शिक्षक सुरेखा योङ्याङलाई मायाको चिनो तथा दोसल्लासहित ताम्रपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरभित्रका दलित समुदायबाट उत्कृष्ट छात्रछात्रा,कर्मचारी,शिक्षकहरुबाट एकजनालाई प्रोत्साहनस्वरुप प्रदान गर्नेगरी एकाउन्न हजार शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उपसचिव तोयानाथ रेग्मीले कोषलाई प्रदान गरेका छन् । त्यसरी नै कोषलाई प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा स्वर्गीय अछामेका बुबा हर्कबहादुर अछामी र पत्नी कुमारी अछामीलाइ दोसल्ला ओढाइ सम्मान गरिएको थियोे ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी, कालिस्थान माविका प्रधानाध्यापक ईन्द्रप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष केदारनाथ पोख्रेलको अध्यक्षता र शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख उपसचिब तोयानाथ रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गणेश माविका प्रधानाध्यापक लोकनाथ दाहालले स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव दिपक भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्